
नेपाल विद्युत् प्राधिकरणको काठमाडौंस्थित रत्नपार्क वितरण केन्द्रमा कार्यरत छन्, विराटनगरका यमुनाप्रसाद भट्टराई ।
प्राधिकरणको चौथो तहअन्तर्गत इलेक्ट्रिकल फोरम्यान पदमा कार्यरत भट्टराई अहिले रत्नपार्क वितरण केन्द्रमा नोलाइटमा कल अपरेटरको (फोन कल रिसिभ गर्ने) जिम्मेवारी सम्हालिरहेका छन् ।
उनले जागिर शुरू गरेदेखि नै दशैंमा बिदा लिएका छैनन् ।
यसपालि बिदा लिएर आफ्नो गाउँघरमै धुमधामले दशैं मनाउने सोचमा थिए उनी ।
बिदाबारे प्रमुख इन्जिनीयर (हाकिम)सँग कुरा पनि राखे ।
गत असोज १४ गते उनले आफ्नो हाकिमसँग दशैं बिदा लिने कुरा सुनाए । सुनाएका मात्र हैनन्, उनले बिदा नै मागेका थिए ।
बिदा मागेको केही दिन बित्दा पनि उनलाई बिदा मिल्ने कुनै छाँट देखिएन ।
त्यसको केही दिनपछि फेरि उनले आफ्नो प्रमुखसँग बिदा लिने कुरा सुनाए । तर त्यतिबेला भने उनलाई बिदा नलिन आग्रह गरियो ।
‘सरले सबै बिदा लिँदा समस्या हुन्छ, तपाईं त बस्नुपर्छ भन्नुभयो,’ लोकान्तरसँग उनले सुनाए, ‘त्यसपछि उहाँको कुरालाई नकार्न सकिनँ, यसपालि पनि दशैं यतै हुने भयो ।’
गएको वर्ष उनले दशैं मनाएनन् । त्यसको अघिल्लो वर्ष उनी दशैं मनाउन घर गएनन् । अहिले तीन वर्षको दशैंमा पनि उनी गाउँघर जान पाएनन् ।
विगत २८ वर्षदेखि नै उनले बिदा लिएर दशैं मनाउन पाएका छैनन् ।
यो सम्झँदा निकै खल्लो लाग्ने गरेको उनी बताउँछन् ।
उनको परिवारमा पत्नी र २ छोरीहरू छन् । छोरीहरू हुर्किसकेका छन् । यस वर्ष पनि दशैंमा बिदा नलिएपछि छोरीहरूले उनीमाथि गुनासो पोखिसकेका छन् ।
‘सबै सरकारी जागिरेहरूको बिदा हुने, तपाईंको नहुने कस्तो हो ? भनेर छोरीहरूले सोध्न थालिसके । पत्नीको पनि चाहना घरमै दशैं मनाउन पाइयोस् भन्ने नै हो,’ भावुक मुद्रामा उनी भन्छन्, ‘यी सबै देख्दा मनमा अमिलोपन आउँछ, निकै खल्लो लाग्छ, तर पनि काम त काम नै हो, जिम्मा लिएपछि पूरा गर्नै पर्छ, त्यसैले बसेको छु ।’
रत्नपार्क वितरण केन्द्र अन्य कार्यालयको तुलनामा बढी व्यस्त छ । सिंहदरबार, प्रधानमन्त्री निवास बालुवाटार लगायतका ठूला सरकारी निकायहरू, असन, पुतलीसडक जस्ता व्यस्त शहरहरू भित्रको विद्युत् व्यवस्थापन यसै कार्यालयले गर्दै आइरहेको छ ।
रत्न राई ग्राउण्ड अपरेसन– सिनियर म्यानेजर, बुद्ध एयरलायन्स एयरपोर्ट शाखा
बुद्ध एयरलायन्सका ग्राउन्ड अपरेसनका सिनियर म्यानेजर रत्न राई दशैं मनाउन घर जान पाएका छैनन् ।
अहिले उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको बुद्ध एयरको कार्यालयमा जिम्मेवारी सम्हाल्दै आइरहेका छन् ।
उनको घर खोटङ हो । उनले बुद्ध एयरमा काम शुरू गरेको २२ वर्ष भइसकेको छ । यस बीचमा उनी दशैं मनाउन घर जान पाएका छैनन् ।
उनी भन्छन्, ‘मैले काम शुरू गरेदेखि नै दशैं मनाएको छैन, २२ वर्ष भयो ।’
मुख्य चाडबाडमा घरमा सबै भेला हुँदा एक किसिमको दशैं लाग्छ । महान चाड दशैंमा नै नजाँदा मन चिसो भएको महशुस गर्छन्, उनी ।
‘सम्झियो भने मन खल्लो हुन्छ, यसलाई हामीले भुलेर नै काम गर्नुपर्ने बाध्यता वा जिम्मेवारी रहेको छ,’ उनी सुनाउँछन् ।
चाडबाडमा घर जान नपाउँदा कहिलेकाहीँ त विरक्त लाग्छ उनलाई । कहिले काहीँ त कस्तो काम रोजेछु मैले भन्ने समेत लाग्ने गरेको उनी सम्झन्छन् । तर यी सबै सोचाईभन्दा माथि त जिम्मेवारी नै छ । र फेरि जिम्मेवारी पूरा गर्नतर्फ लाग्छन् उनी ।
‘मुख्य कुरा जिम्मेवारी रहेछ, जिम्मेवारी बोध हुँदासम्म अन्य सबै कुरा व्यवस्थापन गर्न सकिने रहेछ, त्यसले सान्त्वना दिने रहेछ,’ उनी भन्छन् ।
उनको परिवारमा पत्नी र २ जना साना छोराहरू छन् । उनीहरू काठमाडौंमै छन् । उनीहरू ललितपुरको ढोलाहिटीमा बस्दै आएका छन् । दशैंमा एकछिन अफिसबाट निस्किएर परिवारसँग टीका साटासाट गरेर काममै फर्कने उनको तयारी छ ।
गाउँमा गएर दशैं नमनाएको २२ वर्ष भयो । गाउँको याद उनलाई निकै आउँछ । यस्तै परिवारका सदस्यहरूले पनि गाउँ जानका लागि मरिहत्ते गर्छन्, तर पनि राईले आफ्नो व्यस्तता चिर्न सक्दैनन् ।
‘श्रीमतीले कहिलेकाहीँ त झोक्किनु पनि हुन्छ, घर जाउँ भनेको कति वर्ष भइसक्यो, तर अहिलेसम्म जान सकिएको छैन । यो पटक पनि श्रीमतीले धेरै जोड गर्नुभएको थियो, तर व्यवस्थापन गर्ने पर्ने रहेछ,’ लोकान्तरसँग उनले सुनाए ।
उनी मातहतमा मात्रै करीब २ सय जना कर्मचारीहरू रहेका छन् । त्यसमा धेरै जसो घर जान पाएका छैनन् । निकै न्यून मात्रामा मात्रै कर्मचारी दशैं मनाउन घर गएको उनी सुनाउँछन् ।
अहिले घर नजानेहरूमध्ये कतिपय भने तिहारमा जाने सोचमा छन् ।
उनी स्वयं पनि तिहारमा घरमा जाने विचारमा छन् । ‘एउटा बहिनी छन्, उनको हातबाट टीका लगाउन जसरी पनि जानु पर्छ नै भन्ने छ,’ उनले सुनाए ।