बलिउडका बादशाह शाहरुख खानका छोरा आर्यन लागुऔषध मुद्दामा १५ दिनदेखि प्रहरीको हिरासतमा छन् ।
उनलाई मुम्बईको आर्थररोड जेलमा राखिएको छ । मुद्दामा अहिले पनि सुनुवाइ भइरहेको छ ।
सेशनकोर्टले उनको जमानतमाथि २० अक्टोबरसम्म फैसला सुरक्षित राखिएको छ ।
अहिले आमाबुबासँग टाढा रहेका आर्यनको हालत खराब छ । त्यहीँ शाहरुख–गौरी पनि छोराका लागि निकै चिन्तित छन् ।
यही बीच आर्यनले नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीहरूसँग भनेका छन्– जेलबाट बाहिर आएपछि गरीबहरूको मद्दत गर्नेछु ।
मिडिया रिपोर्टका अनुसार एनसीबीका जोनल डाइरेक्टर समीर वानखेडेले आफ्नो टिमका साथमा आर्यनलाई काउन्सलिङ गरेका थिए । यसैक्रममा आर्यनले जेलबाट बाहिर निस्किएपछि गरीबहरूको मद्दत गर्ने बताएका थिए ।
काउन्सलिङ सेशनमा आर्यनले अबदेखि कुनै पनि गलत काम नगर्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले भने, ‘म एक दिन यस्तो अवश्य गर्नेछु, जसकारण तपाईंलाई ममाथि गर्व हुनेछ ।’
आर्यन २ अक्टोबरदेखि लागुऔषध मुद्दामा एनसीबीको हिरासतमा छन् । प्रहरीले मुम्बईबाट क्रुज जाँदै गरेको जहाजमा भइरहेको ‘ड्रग्स पार्टी’ मा छापा मारेको थियो । जहाँ शाहरुखका छोरासहित अन्य धेरैजनालाई नियन्त्रणमा लिइएको थियो ।