मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
ताइवानका रक्षामन्त्री पूर्व सैन्य जनरल च्यु क्वो–चङले गत साता देशको संसद् भवनमा उभिएर खतरनाक भविष्यवाणी गरे । त्यो थियो– सन् २०२५ सम्ममा चीनले ताइवानमाथि पूर्ण आक्रमण गर्नेछ ।
चीनले ताइवानको दक्षिणपश्चिम भागमा रहेको हवाई क्षेत्रमा कीर्तिमान संख्यामा युद्धविमान पठाएपछि उनको यो नाटकीय भनाइ सार्वजनिक भएको हो । तर दुवै पक्षबीचको शाब्दिक युद्ध र सैन्य हतियार प्रदर्शनका बावजूद चीनले तत्कालै ताइवानमाथि आक्रमण गर्न सक्ने सम्भावना नरहेको विश्लेषकहरू बताउँछन् ।
सन् १९४९ मा चीनको गृहयुद्धमा हारेपछि राष्ट्रवादी सरकार ताइवानतर्फ भागेको थियो र चीनमा कम्युनिस्ट पार्टीको शासन चल्न थालेको थियो । त्यसयता लगातार बेइजिङले ताइवानप्रति आक्रामकता देखाउँदै आएको छ ।
सन् २००० को दशकको आरम्भमा विज्ञहरूले एक दशकभित्र बेइजिङले ताइवान हात पार्ने अनुमान गरेका थिए । सन् २०१३ मा ताइवानको रक्षा मन्त्रालयले सन् २०२० सम्म चीन ताइवानमाथि आक्रमणका लागि समर्थ हुने अनुमान गरेको थियो । तर ती दुवै कुरा मिलेनन् ।
बेइजिङले पछिल्लोपटक हवाईक्षेत्रमा युद्धविमान पठाए पनि ताइवानको राजधानी ताइपेमा जीवन सामान्य चलिरहेको छ । चीनबाट आक्रमण हुने विषयमा ताइवानीहरूलाई केही चिन्ता छैन । चिनियाँ विमान लगातार आइरहेको कुरालाई पत्रिकाहरूले पहिलो पृष्ठमा समेत राखेका छैनन् ।
तर त्यो भन्दैमा चिन्ता लिन नपर्ने पनि हैन । बेइजिङले एक चीन लक्ष्य हासिल गर्नका लागि ताइवानमाथि सैन्य, आर्थिक तथा कूटनीतिक दबाब दिइरहेको छ ।
शान्तिपूर्ण पुनरेकीकरणको आशा तुहिएमा आफ्नो लक्ष्य हासिल गर्न चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूले थप कठोर उपाय अपनाउन सक्ने विज्ञहरूले चिन्ता व्यक्त गरेका छन् ।
चीनको लक्ष्मणरेखा
अक्टोबर महिनाको पहिलो पाँच दिनमा चिनियाँ जनमुक्ति सेनाका १५० भन्दा बढी युद्धविमानहरू ताइवानको एयर डिफेन्स आइडेन्टिफिकेसन जोनमा प्रवेश गरे । उक्त क्षेत्र ताइवानको छेउकुनोमा पर्छ र त्यहाँ गरिने कुनै पनि प्रवेशलाई जवाफ फर्काउने ताइपेको भनाइ छ ।
अक्टोबर १ मा चीनको राष्ट्रिय दिवस पर्छ । जनगणतन्त्र चीनको स्थापनालाई सम्झना गर्न तथा सैन्यशक्ति प्रदर्शन गर्न उक्त दिन महत्त्वपूर्ण छ । तर कीर्तिमान कायम गर्ने गरी युद्धविमान उडाउनुमा त्यति मात्र कारण छैन । चीन र ताइवानबीचको तनाव उच्च विन्दुमा पुगेको महिनौं भइसकेको छ ।
चीन र ताइवानबीचको सम्बन्ध झनै बिग्रनुमा दुई कारण छन्ः पहिलो, ताइवानको आत्मविश्वास बढेको छ जसमा ताइपे र वाशिङटनबीचको सम्बन्धमा आएको न्यानोपन जिम्मेवार छ । दोस्रो, चीनको राष्ट्रिय राजनीति ।
ताइवान र चीनको शासनप्रणाली विगत ७० वर्षदेखि बेग्लाबेग्लै भए पनि बेइजिङले ताइवानलाई आफ्नै भूमि मान्ने गरेको छ र पुनरेकीकरणको लक्ष्यलाई नियमित रूपमा दोहोर्याउने गरेको छ । तर ताइवानलाई चिनियाँ कम्युनिस्ट पार्टीले कहिले पनि शासन गरेको छैन ।
ताइवानको प्रभावलाई कमजोर बनाउन बेइजिङले विगत ४० वर्षमा ताइवानका कूटनीतिक साझेदारहरूलाई उसबाट छुटाउँदै लगेको छ । जम्मा १५ देशसँग ताइवानको पूर्ण कूटनीतिक सम्बन्ध छ । तर सन् २०२० को आरम्भतिरबाट ताइवानको विश्वव्यापी प्रभाव बढिरहेको छ ।
ताइवान नजिकका मुलुकहरूले उसको स्वशासनको अधिकारलाई जोडतोडका साथ प्रतिरक्षा गर्न थालेका छन् । चीनले ताइवानलाई बलपूर्वक लिन खोजेमा टोकियोले उचित जवाफ फर्काउने जापानका रक्षामन्त्री नोबुओ किशीले बताए । अस्ट्रेलियाकी परराष्ट्रमन्त्री मारिसे पेनले ताइवानसँग थप बलियो सम्बन्ध कायम गर्ने प्रतिबद्धता जनाइन् ।
एसिया–प्रशान्त क्षेत्रबाहिर पनि ताइवानप्रतिको समर्थन बढ्दो छ । सेप्टेम्बर महिनामा लिथुआनियाले ताइवानलाई आफ्नो बेग्लै कूटनीतिक मिसन राख्न अनुमति दिएको छ ।
अमेरिकासँग निकट सम्बन्ध कायम गरेर ताइवान विश्व मञ्चमा थप साहसी बनेको छ । सन् २०२० मा ट्रम्प प्रशासन छँदा ताइवानले उच्च तहका अमेरिकी अधिकारीहरूलाई स्वागत गरेको थियो । बाइडन प्रशासनले त्यस प्रवृत्तिलाई जारी राख्दा बेइजिङ निराश भएको छ ।
ताइपेमा रहेको ग्लोबल इन्स्टिच्युट ताइवानका वरिष्ठ फेलो जे माइकल कोलले चीन र अमेरिकाबीचको तनाव बढ्दै जाँदा ताइवानलाई आफ्नो प्रोफाइल बढाउन सहायता पुगेको बताए ।
‘अन्तर्राष्ट्रिय समुदाय ताइवानप्रति केही लचकदार बनेको ताइवानले बुझेको छ । अहिले विचारधाराहरूको लडाइँ चलिरहँदा उदारवादी लोकतन्त्रका रूपमा ताइवानको भूमिका महत्त्वपूर्ण हुन्छ भनी विश्व समुदायले बुझ्न थालेको छ,’ उनले बताए ।
हालैका दिनमा चीनले गरेको हवाई अभ्यास आक्रमणको पूर्वतयारी नभई बेइजिङको निराशाको अभिव्यक्ति भएको जर्मन मार्शल फन्डको एसिया प्रोग्रामकी निर्देशक बोन्नी ग्लेजरको भनाइ छ । ताइवान र अमेरिकालाई चीनको लक्ष्मणरेखा ननाघ्न चेतावनी दिन पनि यो हवाई अभ्यास गरिएको उनी बताउँछिन् ।
ती लक्ष्मणरेखाहरू नाघेमा बेइजिङका तर्फबाट सैन्य आक्रमण हुन सक्छ । ताइवानको औपचारिक स्वतन्त्रताका लागि अभियान चलाइएमा वा ताइवानमा अमेरिकी सैनिकहरू ठूलो संख्यामा तैनाथ गरिएमा लक्ष्मणरेखा नाघिएको मानिनेछ ।
‘चीनले ताइवानलाई कुनामा धकेल्न खोजिरहेको छ र उसविरुद्ध थप दबाब दिइरहेको छ । उनीहरू ताइवानलाई तर्साउन चाहन्छन्,’ उनले बताइन् ।
तर बेइजिङले ताइवान र अमेरिकालाई मात्र नभई आफ्ना जनतालाई पनि सन्देश दिन खोजिरहेको छ ।
ताइवानमाथि दबाब दिएर राष्ट्रपति सी चिनपिङले सन् २०२२ मा चिनियाँ कम्युनिस्ट पार्टीको महाधिवेशनअघि आफ्नो पक्षमा समर्थन बटुल्ने प्रयास गरेका हुन् । त्यसबेला सीको दोस्रो कार्यकाल अन्त्य हुन्छ तर उनले त्यसपछि पनि शासन गरिरहने लगभग पक्का छ ।
अस्ट्रेलियन नेसनल युनिभर्सिटीको अस्ट्रेलियन सेन्टर अन चाइना इन द वर्ल्डका फेलो वन–टी सुङले नोभेम्बर महिनामा कम्युनिस्ट पार्टीको एक बैठकअघि सीले आफ्नो पक्षमा समर्थन जुटाउन खोजेको बताए । त्यस बैठकमा शीर्ष पदका लागि उम्मेदवारहरूको नामको टुंगो लगाइनेछ ।
ताइवानका विषयमा बलियो नीति ल्याएमा सीले आगामी पाँच वर्षमा शीर्ष पदमा आफ्ना सहयोगीहरूलाई राख्न पाउनेछन् ।
‘यस्तो समयमा राष्ट्रवादी भाव जगाउन र राष्ट्राध्यक्षको पक्षमा जनसमर्थन जुटाउन शक्तिप्रदर्शन गर्दा बहालवाला कमान्डर इन चीफलाई फाइदै पुग्छ,’ उनले बताए ।
आगामी वर्षका लागि कम्युनिस्ट पार्टीका धेरै प्राथमिकताहरू छन् जसलाई ताइवानमाथिको आक्रमणले जटिल बनाउँछ । तीमध्ये बेइजिङमा हुने २०२२ शीतकालीन ओलम्पिक र पार्टीको २०औं महाधिवेशन महत्त्वपूर्ण छन् ।
चीनको शान्तिपूर्ण पुनरेकीकरण लक्ष्य
ताइवानमाथि आक्रमण गर्न बेइजिङले देखाएको हिचकिचाहट सीकै अभिव्यक्तिबाट स्पष्ट भएको छ ।
अक्टोबर ९ मा गरेको एक सम्बोधनमा सीले ताइवानसँग शान्तिपूर्ण पुनरेकीकरणको इच्छालाई जोड दिएका थिए । ताइवान आफैंले पुनरेकीकरण गर्ने समयको प्रतीक्षा गर्ने संकेत उनले दिए ।
‘सी चिनपिङले ताइवानका विषयमा बोलेको सुन्दा त्यसमा कुनै हतारो नदेखिनु आश्चर्यको कुरा हो,’ ग्लेजरले बताइन् ।
ताइवानसँग भिडन्त भन्दा पनि शान्तिपूर्ण समाधानको लक्ष्य लिनु तर्कसंगत छ । बेइजिङले बलपूर्वक ताइवानलाई मिसाउनका लागि प्रयास गर्दा निकै महँगो पर्न जान्छ र परिणामको पनि कुनै सुनिश्चितता छैन ।
सन् २०२१ को आरम्भतिर अमेरिकाले गरेको युद्धतयारीमा अमेरिकी बलहरूले सन् २०३० मा चीनबाट हुनसक्ने आक्रमणको प्रतिरूप बनाएका थिए र नक्कली चिनियाँ आक्रमणलाई रोक्न सफल भएका थिए । डिफेन्स न्युजका अनुसार, यी अभ्यासहरूले के देखाए भने चीनले ताइवानमाथि विजय पाएछ भने पनि निकै धेरै जनधनको क्षति बेहोर्नुपर्नेछ ।
त्यसैले बेइजिङले ताइवान आफैं पुनरेकीकरण गर्न आउने आशा गरेको छ । ताइवानको विपक्षी दल क्वोमिन्ताङका नवनिर्वाचित नेता एरिक चुले मुख्यभूमि चीन र ताइवान एउटै मुलुक भएको बताएका छन् । सन् २०२४ को निर्वाचनमा क्वोमिन्ताङ विजयी भएमा बेइजिङसँग पुनः वार्ता थाल्ने उनको भनाइ छ ।
तर केही विज्ञहरूले ताइवान बेइजिङको हातबाट फुत्किसकेको र कुनै पनि प्रकारको पुनरेकीकरण सम्भव नरहेको बताएका छन् । कम्युनिस्ट पार्टीले नागरिक स्वतन्त्रताका विषयमा आफ्नो नीतिमा व्यापक परिवर्तन गरेमा वा चीनका विषयमा ताइवानको अडान बदलिएमा मात्र पुनरेकीकरण हुन सक्छ ।
ग्लोबल इन्स्टिच्युट ताइवानका कोलले त्यस्तो स्थिति चिन्ताजनक भएको बताए । एकीकरणको कुनै अवसर नरहेको स्पष्ट भएमा र सीको कीर्ति वा शक्तिमा पकड धरापमा परेमा उनले कठोर कदम चाल्न सक्ने सम्भावना छ ।
‘त्यस्तो स्थितिमा उनले ताइवानविरुद्ध बल प्रयोग गर्ने वा अन्य उपाय अपनाउने बाध्यता आइलाग्न सक्छ । चिनियाँ जनतालाई सबै कुरा नियन्त्रणमा छ भन्ने देखाउनका लागि पनि उनी ताइवानविरुद्ध कठोर बन्न सक्छन्,’ उनले बताए ।
सीएनएनमा प्रकाशित बेन वेस्टकट र एरिक चुङले तयार पारेको सामग्री लोकान्तरका लागि विन्देश दहालले अनुवाद गरेका हुन् ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...