
नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’को स्वास्थ्य अवस्था बुझ्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सोमवार नर्भिक अस्पताल पुगेका छन् ।
अस्पतालमा करीब २० मिनेट बसेका उनले वैद्यको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।
प्रचण्डसँगै नेता वैद्यलाई भेट्न माओवादी केन्द्रका नेताहरू कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत पनि अस्पताल पुगेका थिए ।
नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।
वैद्यलाई एक्कासि दम बढेर छातीमा पीडा भएपछि उनलाई आइतवार बिहान अस्पताल भर्ना गरिएको हो ।
अस्पताल ल्याएलगत्तै उनको छातीको एक्सरे गरिएको र सो क्रममा सामान्य दागसमेत देखिएको अस्पतालको भनाइ छ ।
नेता वैद्य लामो समयदेखि दमबाट पीडित भएकाले आइतवार बिहान उनीमा देखिएको समस्या गम्भीर भने नरहेको उपचारमा संलग्न चिकित्सकहरूले बताएका छन् ।