
विभिन्न समयमा नेपालबाट बाहिरिएका मूर्ति, थांका लगायत पुरातात्विक महत्त्वका सम्पदा फिर्ता गराउन पुरातत्व विभागले पहल शुरू गरेको छ ।
विभिन्न देशमा चोरी निकासी भएर पुगेका नेपालको भनी स्वामित्व पहिचान भएका सम्पदा फर्काउन नेपाली राजदूतावास, इन्टरपोल र ती देशका संग्रहालयसँग मिलेर सूचना संकलन गरेको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिए ।
अमेरिका, बेलायत, फ्रान्सलगायत देशमा रहेका यस्ता सम्पदा फिर्ता गराउन हाल पहल भइरहेको छ ।
गणेशको मूर्ति भारत र नेपाल दुवै देशमा र थांका नेपाल एवं तिब्बत दुवैतिर बन्ने गरेकाले पहिचानमा कठिनाइ हुने गरेको उनले बताए । विदेशस्थित संग्रहालय, निजी संकलनमा रहेका पुरातात्विक सम्पदामा ‘नेप्लिज कलेक्सन’ भनी रखिएका सामग्री अवैध तरिकाले चोरी, निकासी भएको पाइएपछि स्वदेशमा फिर्ता गराउन लागिएको हो ।
यस्ता सम्पदा नेपाल फर्काउन विभागमा काम गर्ने जनशक्तिको कमी भएका कारण पनि समस्या हुने गरेको छ । विभाग हाल २५ जना जनशक्तिको भरमा चलाउनुपरेको महानिर्देशक गौतमको भनाइ छ । यही जनशक्तिको सम्पदा संरक्षण, पुरातात्विक स्थलको उत्खनन्, विश्व सम्पदा क्षेत्रको संरक्षण, विदेशिएका सम्पदाका विषयमा पनि काम गर्नुपरेको छ ।
चीनमा विदेशिएका सम्पदा फिर्ता गराउने काम गर्ने ३ ब्युरोसहित ४५० जनाभन्दा बढी कर्मचारीले काम गर्छन् ।