मंसिर १०, २०८०
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
कात्तिक २, २०७८
चीनले ध्वनिको गतिभन्दा पाँच गुणा छिटो उड्न सक्ने हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गत अगस्ट महिनामा गरेको खबर फाइनान्सियल टाइम्स नामक पत्रिकाले दिएपछि विश्व राजनीति तरंगित भएको छ ।
उक्त पत्रिकाले नाम नखुलाइएका पाँचजना गुप्तचर अधिकारीलाई उद्धृत गर्दै चिनियाँ सेनाले लंग मार्च नामक रकेटमार्फत लो अर्बिटमा हाइपरसोनिक ग्लाइड प्रक्षेपण गरेको खबर दिएको छ । लो अर्बिट भनेको पृथ्वीको सतहबाट २५० देखि २ हजार किलोमिटर मास्तिरको दूरीमा पर्ने स्थान हो ।
उक्त क्षेप्यास्त्र पृथ्वीको एक चक्कर लगाएर आफ्नो लक्ष्यतर्फ अघि बढेको तर ताराभन्दा ३८ किलोमिटर वरै खसेको बताइएको छ ।
यो खबर आएपछि अमेरिकाको गुप्तचर समुदाय आश्चर्यचकित मात्र नभई स्तब्ध भएको खबर विभिन्न सञ्चारमाध्यमले दिएका छन् । चीनले हेर्दाहेर्दै हाइपरसोनिक हतियारहरूको विकासमा अकल्पनीय प्रगति गरेकोमा अमेरिकीहरू आश्चर्यमा परेका हुन् ।
अझ महत्त्वपूर्ण कुरा त, यस क्षेप्यास्त्रले अमेरिकाको एन्टी–ब्यालिस्टिक क्षेप्यास्त्र प्रणालीलाई पनि ध्वस्त बनाइदिन सक्छ । त्यसैले अमेरिकाको गुप्तचर तथा सामरिक समुदाय स्तब्ध भएको हो ।
तर चीन आफैंले चाहिँ क्षेप्यास्त्र परीक्षणको खबरलाई खण्डन गरेको छ । त्यो क्षेप्यास्त्र नभई पुनर्प्रयोग प्रविधिमा आधारित अन्तरिक्षयान भएको चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता चाओ लिच्यानले नियमित पत्रकार सम्मेलनका क्रममा बताए ।
उनले अन्तरिक्षयानलाई फेरि फेरि प्रयोग गर्न सकिन्छ कि सकिँदैन भनी परीक्षण गर्नका लागि नियमित परीक्षण तालिकाअन्तर्गत अगस्ट नभई जुलाई महिनामा उक्त परीक्षण गरेको बताए ।
यसबाट अन्तरिक्षयानको प्रयोगको खर्च घट्ने तथा यसले अन्तरिक्षमा मानवले शान्तिपूर्ण गतिविधि गर्नका लागि सहज र सुगम उपाय दिएको पनि चाओले बताए । अन्य मुलुकहरूले पनि यस्तो परीक्षण गर्ने गरेको उनको भनाइ छ ।
तर चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले आइतवार एक सम्पादकीय प्रकाशित गर्दै यस क्षेप्यास्त्रबाट चीनको आणविक निवारक प्रणाली (न्युक्लीयर डिटरेन्स सिस्टम) मा नयाँ तथा महत्त्वपूर्ण सदस्य थपिएको लेख्यो । यस क्षेप्यास्त्रले चीनमाथि रणनीतिक सर्वोच्चता कायम रहेको भन्ने अमेरिकाको सोचलाई थप धक्का दिएको सम्पादकीयमा उल्लेख छ ।
नयाँ हाइपरसोनिक क्षेप्यास्त्र २१ हजार माइल प्रतिघन्टाको दूरीमा उड्न सक्छ र यसले अन्तरिक्षबाट पृथ्वीको जुनसुकै कुनामा केही मिनेटको अन्तरमा प्रहार गर्न सक्छ । सैन्यविद्हरूका अनुसार, यसले अलास्कामा रहेको अमेरिकाको एन्टी–ब्यालिस्टिक मिसाइल डिफेन्स प्रणालीलाई बेकामे बनाइदिन्छ । चिनियाँ हतियारले अमेरिकालाई दक्षिणी ध्रुवबाट समेत सजिलै आक्रमण गर्न सक्छ ।
चीनले यो हाइपरसोनिक क्षेप्यास्त्र विकसित गरेर आफू पनि अमेरिकाकै स्तरको सैन्य महाशक्ति बन्न लागेको संकेत दिएको छ । चीन र अमेरिकाबीचको शक्तिको दूरी तीव्र गतिमा घट्दै गइरहेको छ । चीन अब अमेरिकाको गम्भीर रणनीतिक प्रतिस्पर्धी बनिसकेको बेलायती पत्रिका द गार्डियनले आफ्नो सम्पादकीयमा उल्लेख गरेको छ ।
तर चीनको यो पछिल्लो क्षेप्यास्त्रले महाशक्ति मुलुकहरूबीच हतियारको दौडलाई तीव्रता दिएको चाहिँ डरलाग्दो तथ्य हो । अहिले चीन, अमेरिका, रुस र अन्य पाँचवटा मुलुकहरूले हाइपरसोनिक प्रविधिमा काम गरिरहेका छन् । उत्तर कोरिया समेतले गत सेप्टेम्बर महिनामा हाइपरसोनिक क्षेप्यास्त्रको परीक्षण गरेको जानकारी दिएको थियो ।
अमेरिका र रुसका हाइपरसोनिक हतियारहरू मध्यम दूरीका मात्र हुन् । ती हतियार जहाज वा विमानबाट प्रक्षेपण गर्न सकिन्छन् । तर चीनले बनाएको क्षेप्यास्त्र चाहिँ अन्तरिक्षबाट प्रहार गर्न मिल्ने भएकाले बढी खतरनाक छ ।
त्यसैले होला शायद अमेरिकाका रक्षामन्त्री लोयड अस्टिनले चीनको पछिल्लो क्षेप्यास्त्रलाई नजिकैबाट नियालिरहेको बताएका छन् । युरोपेली मुलुक जर्जियाको भ्रमणका क्रममा पत्रकारहरूसँग कुरा गर्दै अस्टिनले चीनको अत्याधुनिक हतियार प्रणालीबाट क्षेत्रीय तनाव बढ्ने प्रतिक्रिया दिए ।
उता अमेरिकी नेतृत्वको सैन्य संगठन नेटोका प्रमुख जेन्स स्टोल्टेनबर्गले यस हतियारका विषयमा प्रतिक्रिया दिँदै चीनको उदय आफूहरूका लागि प्रमुख चुनौती बन्दै गएको बताएका छन् ।
उनले भने, ‘चीन हाम्रो लागि सुरक्षा खतरा बन्दै गएको छ । ऊ हाम्रो नजिक आइसक्यो । हामीले उसलाई आर्कटिकमा देख्न थाल्यौं । उसलाई साइबर स्पेसमा पनि देख्न थाल्यौं । उसका लामो दूरीका हतियारहरू नेटोका सबै साझेदारमाथि आक्रमण गर्न सक्ने भइसकेका छन् ।’
यसैबीच अमेरिकाका विभिन्न थिंकट्यांकहरूले बेइजिङविरुद्ध वाशिङटन थप कठोर बन्न नसकेमा अमेरिकाले चीनविरुद्ध नयाँ शीतयुद्धको हतियार दौड अबको एक दशकमा हार्ने चेतावनी दिएका छन् । त्यसो त हतियार उद्योगको पेरोलमा बस्ने थिंकट्यांकहरूले अमेरिकाका प्रतिस्पर्धी मुलुकहरूको हतियार क्षमतालाई निकै बढाइचढाइ प्रस्तुत गर्ने गर्छन् र अत्याधुनिक हतियारमा थप खर्च गर्न वाशिङटनलाई सुझाव दिने गर्छन् ।
त्यति हुँदाहुँदै पनि पछि नपर्नका लागि वाशिङटन र बेइजिङ दुवैले निकै द्रुत गतिमा आणविक हतियार क्षमतालाई बढाउँदै लगेका छन् ।
द गार्डियनमा उल्लेख गरिएअनुसार, अमेरिकाले आफ्नो आणविक अस्त्रागारलाई विकसित गर्नका लागि १५ खर्ब डलरसम्म खर्च गर्न खोजिरहेको छ । उसले नयाँ आणविक वारहेड, पनडुब्बी र बमवर्षक विमानहरू बनाइरहेको छ ।
चीनले पनि त्यसै गरिरहेको छ । उसका क्षेप्यास्त्रहरूको भण्डार (साइलो) विभिन्न ठाउँमा रहेको खबर हालैका दिनमा बाक्लै आइरहेका छन् । अनि उसले हाइपरसोनिक ग्लाइड परीक्षण सन् २०१६ मै गरिसकेको थियो । नयाँ परीक्षणबाट उत्साहित भएर उसले घातक हतियारहरूको थप परीक्षण जारी राख्ने पक्का छ ।
उता रुसले केही महिनाअघि जिर्कोन नामक हाइपरसोनिक क्षेप्यास्त्र पनडुब्बीबाट प्रक्षेपण गर्न सफलता पाएको थियो । रुसको यस क्षेप्यास्त्रको दायरा ६२१ माइल छ भने यसको गति ९ हजार ८०० माइल प्रतिघन्टा छ । यसमा अन्य देशका क्षेप्यास्त्रनिरोधी प्रणालीहरूलाई ध्वस्त पार्न सक्ने क्षमता भएको रुसको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।
डरलाग्दो कुरा त के भने अहिले यसरी आणविक हतियारहरूको दौड शुरू भएको बेलामा विश्वव्यापी आणविक हतियार नीतिमा पनि द्रुत परिवर्तन आइरहेको छ । शीतयुद्धकालमा गरिएका कतिपय आणविक सन्धिहरूको म्याद सकिन थालेको छ ।
विशेषगरी अमेरिका र रुसले हस्ताक्षर गरेको न्यु स्टार्ट सन्धिको म्याद सन् २०२६ मा सकिँदैछ । उक्त सन्धिले आक्रामक आणविक हतियारको संख्या घटाउने उद्देश्य लिएको छ ।
त्यस्तै अर्को सन्धि इन्टरमिडिएट रेन्ज न्युक्लीयर फोर्सेस ट्रीटी छ । अमेरिका त्यसबाट सन् २०१९ मा बाहिरिएपछि रुस पनि बाहिरिएको थियो । उक्त सन्धिले जमीनबाट मार हान्ने ब्यालिस्टिक र क्रुज क्षेप्यास्त्रहरूमा प्रतिबन्ध लगाएको थियो ।
अहिले अमेरिकाले रुस, चीन र अन्य आणविक हतियार भएका मुलुकसँग यस्ता सन्धिसम्झौता पुनः गर्न सकिन्छ कि भनी कोशिश गरिरहेको छ । तर चीन र रुसलाई रणनीतिक प्रतिस्पर्धी मात्र नभई शत्रु (एड्भर्सेरी) को दर्जा अमेरिकाले दिएकाले उनीहरूलाई सन्धिको पक्षराष्ट्र बनाउन सोचे जति सजिलो छैन ।
तत्कालका लागि चीनको नयाँ हतियार प्रणालीले दक्षिण चीन सागर र पूर्वी चीन सागरमा चीनलाई निकै बलियो स्थितिमा पुर्याएको छ । ताइवानलाई रक्षा गर्ने भन्दै अमेरिकी वा अन्य युद्धपोत वा विमानहरू आइपुगेमा चीनको हाइपरसोनिक क्षेप्यास्त्रले त्यसलाई सजिलै डुबाइदिन सक्छ ।
चीनलाई उसकै परिधिमा टक्कर दिनका लागि अमेरिका, बेलायत र अस्ट्रेलियाले गरेको अकस साझेदारीअन्तर्गत अस्ट्रेलियालाई आणविक ऊर्जाबाट चल्ने पनडुब्बी सन् २०४० भन्दा अघि उपलब्ध गराउन सम्भव छैन । त्यसैले तत्कालका लागि चीनको रणनीतिक विजय भएको देखिन्छ ।
तर कसैको विजय र पराजय भन्दा पनि घातक हतियारहरूको दौड शुरू भएको कुरा चिन्ताजनक छ । जलवायु परिवर्तन, महामारी र गरीबी जस्ता विश्वव्यापी समस्याको समाधानमा महाशक्तिहरू जुट्नुपर्ने बेलामा हतियारको अस्वस्थ प्रतिस्पर्धामा लाग्नु विश्वकै लागि दुःखद समाचार हो ।
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...