२७ जेठ २०८३, बुधबार

कतारमा हुने विश्वकपलाई अब 'स्वस्थ विश्वकप' बनाउने घोषणा

कात्तिक २, २०७८
कतारमा हुने विश्वकपलाई अब 'स्वस्थ विश्वकप' बनाउने घोषणा

आगामी विश्वकपलाई जनस्वास्थ्यका दृष्टिकोणबाट स्वस्थ खेल समारोह बनाउने घोषणा भएको छ ।  विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा यसको घोषणा भएको हो । 

घोषणा सभामा विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. तेड्रेस अदानोम गेब्रेयसुस, कतारका जनस्वास्थ्य मन्त्री डा.हनान मोहम्मद अल कुवारी, कतारी सुप्रिम कमिटी तथा लेगसीका महासचिव हसन अल(थवाडी, अन्तर्राष्ट्रिय फुटबल संघ (फिफा) अध्यक्ष जिआनि इन्फान्टिनो र विश्व स्वास्थ्य संगठन मध्यपूर्वी क्षेत्रका संयोजक डा. अहमद विन सलेम अल-मन्धारीको उपस्थिति थियो । 

कतार सरकार तथा विश्वकप फुटबल प्रतियोगिताका आयोजक संस्था सुप्रिम कमिटी तथा लेगसीले फिफासँगको सहकार्यमा सबै क्रियाकलापलाई जनस्वास्थ्यका दृष्टिकोणमा उपयुक्त बनाउने काम गर्नेछन् । 

साथै स्वस्थ्य जीवनयापनका विषयवस्तुहरूको विज्ञापनका माध्यमबाट बुझाउने काम पनि गरिने बताइएको छ । 

यसबाहेक विश्वकप फुटबल प्रतियोगिता आयोजना हुने समय, आगामी वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्मको अवधिभर स्वास्थ्य सुरक्षा र शारीरिक तथा मानसिक स्वास्थ्यका बारेमा समेत जानकारी गराइने कार्यक्रम छन् । 

यो कार्यक्रम आगामी दिनमा खेलकुदसम्बन्धी ठूला कार्यक्रमहरूको आयोजना गर्दा स्वास्थ्यसँग सम्बन्धित विषयमा पुर्‍याउन सकिने सुरक्षा तथा सावधानीका विषयमा पहिले नै जानकारी लिन उपयुक्त हुने विश्वास गरिएको छ । 

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. तेड्रेस अदानोम गेब्रेयसुसले कतार सरकारले विश्वकप फुटबल प्रतियोगिताको समयमा जनस्वास्थ्यको विषयमा मध्यनजर गर्दै चालेको कदमलाई स्वीकार गर्दै कतार सरकारलाई धन्यवाद दिए । 

महानिर्देशक डा. तेड्रेसले कोरोना महामारीकै बीचमा शुरू हुन लागेको विश्वकप फुटबलले जनस्वास्थ्यका क्षेत्रमा नयाँ सम्भावनाको बाटो देखाउनेमा ढुक्क भएको तथा विश्वले नै यस महामारीबाट छुटकारा पाउँने विश्वास व्यक्त गरे । 

कतारका जनस्वास्थ्य मन्त्री डा. हनान मोहम्मद अल कुवारीले मध्यपूर्वमा विश्वकप फुटबल प्रतियोगिता आयोजना गर्ने पहिलो राज्य कतार भएकोमा गौरवान्वित भएको बताइन् । 

कतारले आगामी वर्षको नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म विश्वकै सर्वाधिक लोकप्रिय खेलकुद प्रतियोगिता विश्वकप फुटबलको आयोजना गर्दैछ । साथै सन् २०३० मा एसियन गेम आयोजना गर्दैछ ।

salt training

कमेन्ट गर्नुहोस्