
सुदूरपश्चिम प्रदेश सरकारले अविरल वर्षासँगैको बाढी र पहिरोबाट सर्वसाधारणको उद्धार र राहतका लागि तत्काल २७ करोड २५ लाख रुपैयाँ खर्च गर्ने भएको छ ।
मंगलवार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको आकस्मिक बैठकले विपद् व्यवस्थापन, राहत र उद्धारको लागि तत्काल रकम खर्च गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशीले तत्कालका लागि बाढी प्रभावित ९ वटै जिल्लामा २५ लाख रुपैयाँका दरले उपलब्ध गराउने निर्णय भएको जानकारी दिइन् । जुन रकम राहत तथा उद्धारको लागि प्रहरी तथा प्रशासन कार्यालयमार्फत खर्च हुने मन्त्री जोशीले बताइन् ।
उनले भनिन्, ‘यो रकम अहिलेको तत्कालको लागि हो । क्षतिको यकिन विवरण आए हामी थप राहत उपलब्ध गराउने निर्णय गर्छाैं । यो रकम राहत र उद्धारमा मात्रै खर्च हुन्छ ।’
मन्त्री जोशीले प्रदेश विपद् व्यवस्थापन कोषमा २५ करोड उपलब्ध गराउने निर्णय भएको बताइन् । यो रकम पनि विपद् व्यवस्थापन, उद्धार र राहत वितरण तथा जनशक्ति व्यवस्थापनमा खर्च हुने बताइन् ।