
अविरल वर्षाका कारण भित्र्याउन लागिएको धानबालीलाई क्षति पुगेर किसान मर्कामा परेको घटनाप्रति मौलिक जरोकिलो पार्टीले चिन्ता व्यक्त गरेको छ ।
बीउको अभाव, समयमै मल नपाउने समस्या र बजारको अभावको कारण आफ्नो उत्पादन खेतबारीमै सड्ने समस्या पटक–पटक भोगेका नेपाली किसानले यसपटक पाकेको धानबाली भित्र्याउने बेला बेमौसमको वर्षाले गरेको क्षति सहनुपरेकोमा पार्टीले दुःख व्यक्त गरेको छ ।
खेतीपातीबाट जीविकोपार्जन गरिरहेका साना किसानहरू चरम आर्थिक संकटमा पर्ने र भोकमरी लाग्ने सम्भावना बढ्नसक्ने पार्टीले अनुमान गरेको छ ।
तंग्रिन थालेको अर्थतन्त्रलाई टेवा दिन र संकटमा परेका किसानको क्षतिपूर्ति बहन गर्ने राहत कार्यक्रम घोषणा गर्न मौलिक जरोकिलो पार्टीले सरकारसँग जोडदार माग गरेको छ । अधिकांश साना किसानको पहुँचमा कृषि बीमा नपुगेको हुँदा झनै संकट व्यहोर्नुपरेको भन्दै बीमालाई सहज र सुलभ बनाइ साना किसानहरूको पहुँचमा ल्याउने व्यवस्था गर्न जरोकिलोले सरकारसँग माग गरेको छ ।
मौलिक जरोकिलो पार्टीको कृषि विभाग संयोजक मित्रलाल शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘समस्या परेपछि टालटुल किसिमको प्रतिक्रियात्मक रूपमा समाधान गरिने अहिलेको कृषि प्रणाली विस्थापन गरी पार्टीले निर्माण गरेको पर्यावरणीय कृषि नीतिको अवलम्बन नै नेपालको कृषि क्षेत्रमा देखिएका समस्याहरूको दीर्घकालिन समाधान र नेपालको कृषि क्षेत्रको पुनर्जागरणको एक मात्र उपाय हो ।’
