०४ असार २०८३, बिहीबार
प्राकृतिक विपद्

बझाङ पहिरोमा एकैघरका १८ सहित २३ जना बेपत्ता [नामसहित]

कात्तिक २, २०७८
बझाङ पहिरोमा एकैघरका १८ सहित २३ जना बेपत्ता [नामसहित]
प्रतिकात्मक तस्वीर

बझाङको थलारा गाउँपालिका–४ डिख्लामा मंगलवार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएका छन् ।

गाउँमाथि ढोगदिनाबाट पहिरो खस्दा २ गाउँका स्थानीय विस्थापित भएका छन् भने ७ घर पुरिएका छन् । 

बेपत्ता हुनेमा गगने सार्कीका एकैघरका १८ र नरे पार्कीका घरका ५ जना रहेका छन् । गगने सार्की रोजगारीका लागि भारतमा छन् । उनका माइला छोरा काले सार्की मात्र सकुसल छन् ।

बेपत्ता हुनेमा गगने सार्कीको घरका हर्कु, धनगिरी, सीता, प्रवास, भूमिका, चिरञ्जीवी, इस्सरा, सञ्जीव, सविता, सरोज, शर्मिला, पम्मा, सुवास, विकास, १ जना नाम नखुलेका रहेका छन् भने मदन (सरस्वती मावि पीपलगडाका शिक्षक) कलुदेवी र एलिसा सार्की गरेर १८ जना छन् । 

नरे पार्कीका घरका उजली, आयुष, हिमा र सीमा गरेर ५ जना बेपत्ता रहेका छन् । 

तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भई त्रिभुवन मावि महेन्द्रधारमा बसिरहेका छन् । गाउँ पहिरोको जोखिममा रहेपछि १०० भन्दा बढी परिवार विस्थापित भई आफन्त र नजिकैको विद्यालयमा बसिरहेको शान्ति मावि पाराकाट्नेका शिक्षक मदनबहादुर साउँदले बताए ।

उनले भने, ‘बिहान ४ बजे सुतेकै समयमा पहिरो आएछ । केही भागेर बाँचे केही बेपत्ता भए, पानी रोकिएको छैन । घटनास्थलसम्म पुग्ने बाटो असहज भएको र जयपृथ्वी राजमार्ग अवरुद्ध भएका कारण त्यहाँ पुग्न सकेका छैनन् ।’ 

सुदूरपश्चिमका पहाडी जिल्लामा सञ्चार सेवा अवरुद्ध हुँदा थप विवरणका लागि सम्पर्क हुन सकेको छैन । बाढीले सडक अवरुद्ध भएको र नेटवर्क नहुँदा समयमै खबर नपाएकाले उद्धारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए ।

उनले भने, ‘पहिरोमा परेर बेपत्ता भएको भन्ने खबर आएको छ । लगातार पानी परिरहेकाले बाटो अवरुद्ध छ । घटनास्थल टाढा भएका कारण पुग्न सकिएको छैन ।’

salt training

कमेन्ट गर्नुहोस्