
लगातारको वर्षाले सप्तरीका १८ पालिकाका धानबालीमा क्षति पुर्याएको छ ।
काटेर खेतमै रहेका अवस्थामा धानबाली डुबानमा परेपछि किसान चिन्तित बनेका छन् ।
छिन्नमस्ता गाउँपालिका–३ का किसान दीपेन्द्र यादवले खेतमा पानी जमेपछि काटेको धान डुबानमा परेकोे बताए । जिल्लाको दक्षिणी क्षेत्रका छिन्नमस्ता, तिलाठी कोइलाडी गाउँपालिकासहित पश्चिमी भेगका बलान विहुल, राजगढ गाउँपालिका, बोदे बरसाइन, डाक्नेश्वरी नगरपालिका, र पूर्वी भेगका हनुमाननगर कंकालिनी नगरपालिका क्षेत्रमा धानबालीलाई पानीले बढी असर पारेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार यसवर्ष जिल्लाको ६८ हजार हेक्टरमध्ये ६३ हजार हेक्टरमा धानबाली लगाइएकोे थियो । वर्षाले साथ दिँदा शतप्रतिशत रोपाइँ भएकाले केन्द्रले जिल्लामा धान उत्पादन बढ्ने अनुमान समेत गरेको थियो ।
आइतवार रातिदेखि परेको अविरल वर्षाका कारण उत्पादनमा करीब २० प्रतिशत क्षति पुग्ने जनाइएको छ । पाकेको धानबालीमा पानी जमेर नष्ट हुँदा किसान मर्कामा परेका छन् । ठूलो मिहिनेत र लगानी गरेको धानबाली भित्र्याउने बेलामा पानीमा डुबेर खेतमा धान झरेर टुसा उम्रिने भएपछि उनीहरू निराश भएका छन् ।
हावाहुरी र वर्षाको कारण खेतमा पाँजा लगाएको धान समेत उठाउन नपाएको उनीहरूको दुखेसो छ । हनुमाननगर कंकालिनी–२ का किसान लाल माझीले थन्काउने बेलामा धान नष्ट हुँदा समस्या परेको बताए । उनले भने, ‘खेतमा जम्मा भएको पानी सुक्दासम्म त धान झरेर उम्रिन्छ ।’