
नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनअन्तर्गतका रोकिएका जिल्ला अधिवेशनहरू छठपछि शुरू गरिने बताएका छन् ।
बुधवार चितवनमा पत्रकारसँग कुरा गर्दै उनले जिल्लाको सदस्यताको विवाद तिहारअघि नै समाधान हुने बताए । ‘विभिन्न कारणले रोकिएका जिल्ला अधिवेशनहरू छठपछि हुन्छ र तिहारअघि सबै जिल्लाको सदस्यतासम्बन्धी विवाद समाधान भइसक्छ,’ उनले भने ।
सहमहामन्त्री डा. महतले स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा नेपाली कांग्रेसले नै बहुमत प्राप्त गर्ने गरी पार्टी अघि बढ्ने बताए ।
‘अब कांग्रेस एकल बहुमत प्राप्त गर्ने गरी अघि बढ्छ, पार्टीको आगामी महाधिवेशनमा पार्टी एक ढिक्का हुन्छ र यसले आगामी सबै तहका निर्वाचनमा पार्टीमा बहुमत हासिल गर्न पूरा सहयोग पुग्छ,’ उनले भने ।
पार्टीलाई महाधिवेशन केन्द्रित मात्रै नभएर तीन तहको निर्वाचन केन्द्रित भएर अघि बढाउने उनको भनाइ छ ।
सरकारको एक सय दिन सफल रहेको भन्दै उनले सरकारले अरू धेरै कामका अतिरिक्त चार वटा महत्त्वपूर्ण काम गरेको बताए ।
‘सरकार गठन भएपछि जनतालाई कोभिडविरुद्धको खोप, पराराष्ट्र नीति, भ्रष्टाचार नियन्त्रण र संवैधानिक आयोगमाथिको हस्तक्षेप रोकिएको छ,’ उनले भने ।