
दुई अर्ब ५० करोड मूल्य बढीको बुद्ध मूर्ति मंगलवार भैरहवा भन्सार कार्यालयमा आइपुगेको छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राखिने सो मूर्ति लुम्बिनी गार्डेन फाउण्डेसनले लुम्बिनी सांस्कृतिक नगरपालिका मार्फत गौतमबुद्ध विमानस्थलमा राख्नका लागि यो बुद्ध मूर्ति ल्याइएको फाउण्डेसनका महासचिव एकराज गिरिले बताए ।
म्यानमारमा बनाइएको यो मूर्ति भारत हुँदै नेपाल ल्याइएको हो । मूर्तिलाई कात्तिक १४ गते राष्ट्रपति मार्फत गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा अनावरण गर्ने कार्यक्रम रहेको गिरीले बताए ।
अर्थ मन्त्रालय र पर्यटन मन्त्रालयको समन्वयमा भन्सार शुल्क नलाग्ने गरी मूर्ति भित्र्याइएको हो । वाइडजेड स्टोनबाट बनेको बुद्ध मूर्ति १८ सय केजीको छ । यो मूर्ति लोटस ल्पावरसहित १ दशमलब ९ मिटर अग्लो, ६० सेन्टिमिटर चौडाइ र १ मिटर मोटाइ रहेको छ ।
यो मूर्तिलाई भैरहवा लुम्बिनी परिक्रमा गरी गौतमबुद्ध विमानस्थल परिसरमा लगेर राखिने लुम्बिनी होटल संघका अध्यक्ष गोबिन्द ज्ञवालीले जानकारी दिए ।
म्यानमारमा पाइने बहुमूल्य ढुंगाको अन्तर्राष्ट्रिय बजारमा एक ग्रामको १ हजार २ सय हङकङ डलर पर्ने फाउण्डेसनले जनाएको छ ।