
भारत, जगन्नाथ पुरीस्थित गोबद्र्धन मठका शङ्कराचार्य स्वामी श्रीनिश्चलानन्द यही कात्तिक ७ गते नेपाल आउने भएका छन् । शङ्कराचार्य निश्चलानन्द नेपाल आउने भएपछि नेपालका सबै हिन्दू धर्मसंँग सम्बन्धित सङ्घसंस्थाका प्रमुख तथा मन्दिर एवं पीठका पीठाधिसहरु भैरहवा भेला हुने भएका छन् ।
भैरहवामा आज आयोजित पत्रकार सम्मेलनमा आचार्य किशोर गौतमले शङ्कराचार्य लुम्बिनीस्थित कक्रहवा नाकाबाट नेपाल आई अर्कोदिन महेन्द्रसभागृहमा धार्मिकसभा सरिक हुने जानकारी दिए । आचार्य गौतमले धर्मसभामा हिन्दूधर्मप्रति आस्थावान् ॐकार परिवारका सबैलाई सहभागी हुन अनुरोधसमेत गरे।
विभिन्न विषयमा करीब पाँच सयभन्दा बढी पुस्तकका लेखक तथा उडिसा राज्यस्थित शङ्कराचार्य पीठका शङ्कराचार्य नेपाल आउने भएपछि हिन्दूधर्मालम्बीहरु स्वतःस्फूर्त रुपमा स्वयंसेवी भावले कार्यक्रम सफल पार्न खटिएको सङ्घसंस्था समन्वय उपसमिति संयोजक कृष्णप्रसाद भण्डारीले बताए ।