केही दिनयता निरन्तर परेको अविरल वर्षाले खेतीबालीमा क्षति पुर्याएपछि जिल्लाका कृषक चिन्तित बनेका छन् ।
सोलुखुम्बुको मुख्य बालीमध्ये धान र कोदो खेतीमा वर्षासँगै हावाहुरीले क्षति पुर्याएपछि खाद्य संकट निम्तन सक्ने चिन्ताले किसानलाई पोल्न थालेको छ ।
भित्र्याउने बेलाको कोदो र धानबाली हावाले ढालेपछि कृषक दिनमा भोक र रातमा निद्रा समेत नलाग्ने बताउँछन् । थुलुङ दूधकोसी गाउँपालिका–६ का कृषक तुलबहादुर कार्कीले करीब १२ रोपनी क्षेत्रफलमा लगाएको धानबाली हावाहुरीका कारण भित्र्याउन नमिल्ने गरी नष्ट गरेको गुनासो गरे ।
‘गत वर्षको तुलनामा यस वर्ष उत्पादन बढ्ने अनुमान थियो,’ उनले भने, ‘तर एकै रातमा सालभरि खाने खेती सखाप बनायो ।’
कृषि ज्ञान केन्द्रका अनुसार गत वर्ष जिल्लामा १ हजार ५०५ हेक्टर क्षेत्रफलमा ३ हजार ६०० मेट्रिक टन धान उत्पादन भएको थियो । यस वर्ष १० प्रतिशतले उत्पादनमा गिरावट आउने अनुमान रहेको केन्द्रका सूचना अधिकारी कुलबहादुर राईले जानकारी दिए ।
जिल्लाको नेचा सल्यान, थुलुङदूधकोसी र सोताङको तल्लो क्षेत्रमा धान खेती हुँदै आएको छ । तल्लो क्षेत्रका कृषकको मुख्य आम्दानीको स्रोत नै धान रहेको भए पनि एकैरातमा स्वाहा हुँदा मन पोल्ने गरेको नेचासल्यान गाउँपाकिला–३ का मात्रिका कट्टेलले बताए । ‘पाकिसकेको धान भित्र्याउन मात्र बाँकी थियो,’ उनले भने, ‘मेहेनत र श्रम खेर गयो, एकातिर परिवार कसरी पाल्ने भन्ने चिन्ताले सताउन थाल्यो, अर्कोतिर राहत पाउने आश पनि छैन ।’
जिल्लाको मध्य भागका कृषकको मुख्य अन्नबालीमध्ये कोदो पनि पर्छ । हावाहुरी र पानीले बाली क्षति पुर्याउँदा उत्पादन घट्ने मात्र नभई घरपरिवार चलाउन गाह्रो हुने थुलुङ दूधकोसी गाउँपालिका–७ का वासुदेव खत्रीको गुनासो छ । जिल्लामा गत वर्ष २ हजार १०५ हेक्टर क्षेत्रफलमा २ हजार ८३० मेट्रिक टन कोदो उत्पादन भएको भए पनि यस वर्ष १० प्रतिशतभन्दा बढीले घट्ने केन्द्रको अनुमान छ ।
निरन्तरको वर्षासँगैको हावाहुरीका कारण के–कति अन्नबालीमा क्षति पुग्यो भन्ने यकिन विवरण भने स्थानीय सरकारदेखि ज्ञान केन्द्रसँग पनि छैन । ज्ञान केन्द्रका सूचना अधिकारी राईका अनुसार सबै स्थानीय तहलाई क्षतिको विवरण उपलब्ध गराउन परिपत्र गरेको भए पनि प्राप्त भएको छैन । विवरण संकलन भए पनि क्षतिपूर्तिसम्बन्धी स्पष्ट नीतिगत व्यवस्था नभएको उनको भनाइ छ ।