
देशका विभिन्न भागमा बाढी, पहिरो र डुबानले भएको जनधनको ठूलो क्षतिप्रति राष्ट्रपति विद्यादेवी भण्डारीबाट गहिरो दुःख व्यक्त भएको छ ।
राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले बिहीवार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले शोक सन्तप्त परिवारमा सहानुभूतिसहित हार्दिक समवेदना प्रकट गरेका जनाएका छन् ।
‘सम्माननीय राष्ट्रपतिज्यूले विपद्को यस दुःखद् घडीमा प्रकोप पीडितहरूको उद्धार तथा व्यवस्थापन, घाइतेहरूको उपचार, राहत वितरण र वेपत्ता भएकाहरूको खोजीकार्यमा राज्यका संयन्त्रहरूलाई परिचालित गराउने कार्यमा सम्बद्ध निकायको ध्यान पुग्नेछ भन्ने विश्वास व्यक्त गर्नुभएको छ । यसैगरी प्रकोपबाट कृषि क्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्वयात्मक रूपमा अघि बढ्न आग्रह गर्नुभएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
प्राकृतिक प्रकोपबाट उत्पन्न दुःखको अवस्थामा सम्पूर्ण राजनीतिक दल, सामाजिक संघसंस्था र समुदायलाई आवश्यक समन्वय र सहकार्यसहित पीडितको उद्धार तथा राहत कार्यमा संलग्न हुन राष्ट्रपति भण्डारीले आह्वान गरेकी छन् ।
‘सम्माननीय राष्ट्रपतिज्यूले भविष्यमा आइपर्ने यसप्रकारका प्राकृतिक प्रकोपबाट बच्न सम्बद्ध सबै पक्षले सावधानी अपनाउनुपर्ने कुरा बताउनु भएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।
