
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिन बिहीवार दिउँसो १ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक दिउँसो ३ बजेसम्मका लागि सरेको छ ।
सांसदहरू हेटौंडा पुग्ने क्रम जारी रहेकाले बैठक केहीघण्टा पर सारिएको प्रदेशसभा सचिवालयका एक अधिकारीले बताए ।
वडा अधिवेशनलाई कारण देखाउँदै एमालेले बिहीवारका लागि तय भएको मतदान कात्तिक ११ गतेसम्म सार्न प्रस्ताव गरेको थियो तर अल्पमतमा परेको सरकारले बहाना गरेर म्याद लम्ब्याउन खोजेको भन्दै आलोचना भएपछि मुख्यमन्त्री शाक्यले बिहीवारै विश्वासको मत लिने तयारी गरेकी हुन् ।
गत भदौ २ गते शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी थिइन् । एमाले विभाजनउन्मुख भएको बेला डोरमणि पौडेललाई राजीनामा गर्न लगाएर शाक्यलाई मुख्यमन्त्री बनाइएको थियो ।
प्रदेश सभामा एमाले अल्पमतमा रहेकाले शाक्यले विश्वासको मत पाउने सम्भावना न्यून छ । विश्वासको मत गुमाएमा नेपालको पहिलो महिला मुख्यमन्त्रीको कार्यकाल २ महिनामै सीमित हुने सम्भावना छ ।