
खानेपानी कार्यालय जनकपुरका निमित्त प्रमुख राजेश्वर कुशवाहलाई भ्रष्टाचारी भन्दै अर्धनग्न पारेर हिलो छ्याप्दै बजार परिक्रमा गरिएको घटनामा अराजकता भन्दै आलोचना भइरहेका बेला जनमत पार्टीका अध्यक्ष सीके राउतले प्रस्टोक्ति दिएका छन् ।
सामाजिक सञ्जाल ट्विटरमा लेख्दै अध्यक्ष राउतले अख्तियारमा ज्ञापनपत्र दिँदा समेत अख्तियारले भ्रष्टाचारीलाई संरक्षण गरेपछि आजित जनताले जनकारबाही गरेको दाबी गरेका छन् ।
राउतले लेखेका छन्, ‘अख्तियारलाई ज्ञापनपत्र दिएको कति भो ? तर अख्तियारले भ्रष्टाचारी संरक्षण गर्ने ! उपमहानगरपालिका र खानेपानी विभागलाई ज्ञापनपत्र दिएको कति भो ? तर सुन्दै नसुन्ने ! प्रहरीलाई उजुरी दिएको कति भो ? तर उल्टा गरीब निमुखालाई समात्ने ! अनि भ्रष्टबाट आजित जनताले के गर्छन् – जनकारबाही ।’

बिहीवार भ्रष्टाचारीको आरोप लगाउँदै जनमत पार्टीले कुशवाहको माथिल्लो शरीर नाङ्गै पारी शरीरमा हिलो फालेर नगर परिक्रमा गराएको छ ।
भ्रष्टाचारको विरोधमा जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा प्रदर्शन समेत गरिएको जनमत पार्टीका नेता ईन्द्रजित यादवले जानकारी दिए ।
पार्टीले मुख्यमन्त्री लालबाबु राउत र मेयर लालकिशोर साहविरुद्ध समेत नाराबाजी गरेको छ ।
अख्तियारलाई ज्ञापन पत्र दिएको कति भो ? तर अख्तियारले भ्रष्टाचारी संरक्षण गर्ने! उपमहानगरपालिका र खानेपानी विभागलाई ज्ञापन पत्र दिएको कति भो ? तर सुन्दै सुन्ने! प्रहरीलाई ऊजुरी दिएको कति भो ? तर उल्टा गरीब निमुखालाई समात्ने! अनि भ्रष्टबाट आजित जनताले के गर्छन् - जनकारबाही। pic.twitter.com/wFKbkbl5gW
— Dr. CK Raut (@drckraut) October 21, 2021