
बागमती प्रदेशमा नेकपा एकीकृत समाजवादी र नेपाली कांग्रेसले सरकारको नेतृत्व आधा–आधा कार्यकाल चलाउने गरी बाँडफाँट गरेको छ ।
बागमती प्रदेश सभाका रहेका नेकपा एकीकृत समाजवादी, कांग्रेस, माओवादी केन्द्र र जसपाका सम्मिलित गठबन्धनको बैठकमा सरकारको नेतृत्व आधा कार्यकाल बाँड्ने सहमति भएको एक नेताले जानकारी दिए ।
सहमतिअनुसार शुरूमा नेकपा एसका संसदीय दलका नेता राजेन्द्र पाण्डे मुख्यमन्त्री बन्नेछन् । उनले आधा कार्यकाल सरकारको नेतृत्व गरेपछि कांग्रेस संसदीय दलका नेता ईन्द्र बानियाँले प्रदेश सरकारको नेतृत्व गर्नेछन् ।
केन्द्रमा बागमती प्रदेशको सरकारको नेतृत्व नेकपा एसलाई दिने सहमति भए पनि प्रदेशमा कांग्रेसले आफैंले सरकारको नेतृत्व दाबी गरेको थियो ।
अहिले एमालेको नेतृत्वमा रहेको सरकार अल्पमतमा छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने प्रस्ताव प्रदेश सभामा टेबल गरिसकेकी छन् ।
बिहीवार शुरू भएको प्रदेश सभाको बैठकमा मुख्यमन्त्री शाक्यले विश्वासको मत लिन लागेकी छन् । उनले विश्वासको मत नपाउने निश्चित छ । उनी विश्वासको मत नपाएर विस्थापित भएपछि पाण्डेलाई मुख्यमन्त्री बनाउने गठबन्धनको तयारी छ ।