
प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौं फर्केर बाढी र पहिरो पीडितका लागि राहत प्याकेज घोषणा गर्ने बताएका छन् ।
सुदूरपश्चिम दौडाहामा रहेका प्रधानमन्त्री देउवाले शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् ।
उनले पछिल्लो वर्षाले देशको पूर्व र पश्चिम क्षेत्रमा धेरै ठूलो क्षति पु¥याएको बताउँदै अल्पकालीन र दीर्घकालीन राहत र पुनर्निर्माणको योजनाहरु ल्याउने समेत बताए ।
उनले, ‘सुदूरपश्चिममा ठूलो संख्यामा मानवीय क्षति भएको छ । पूर्वाधारहरु क्षतविक्षत छन् । बाटो छैन, विजुली छैन । किसानको धानबालीमा ठूलो क्षति भएको छ । म त्यहाँ पनि जाँदैछु । अहिले उद्धार र राहतको काम भइरहेको छ । दीर्घकालीन योजना बनाएर काम गर्नुपर्नेछ ।’
अविरल वर्षापछि आएको बाढी र पहिरोले क्षति पुर्याएपछि उनी बिहीबार सुदूरपश्चिम आएका हुन् ।
यसैबीच काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले एमसीसी पारित हुने बताएका छन् ।
एमसीसीबारे गलत प्रचार गरिएको भन्दै उनले नेपालको कानूनको अधिनमा हुने गरी लागु हुने बताएका हुन् ।
एमसीसी फिर्ता हुन्छ कि, संशोधन हुन्छ भन्ने जिज्ञासामा उनले भने, ‘यसमा केही गर्नुपर्ने नै छैन । झुठ्ठा प्रचार गरिएको छ । एमसीसी अनुदान हो । यसमा नेपालको कानून लागु हुन्छ । नेपालको कानूनभन्दा तल हुन्छ ।’