०३ साउन २०८३, आइतबार

ओलीको आरोप- पाँच दलीय गठबन्धन प्रतिगामी

‘सबै वडामा सर्वसम्मतिमा नेतृत्व चयन गर्नू’
कात्तिक ६, २०७८
ओलीको आरोप- पाँच दलीय गठबन्धन प्रतिगामी
फाइल तस्वीर।

एमाले अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धन प्रतिगामी भएको आरोप लगाएका छन् । 

शुक्रवार देशभर एमालेको वडा अधिवेशन उद्घाटनपछिको सम्बोधनमा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन अग्रगामी हुनै नसक्ने बताएका हुन् । 

ओलीले एमालेको केन्द्रीय कार्यालय थापाथलीबाट देशभरको वडा अधिवेशनको भर्चुअल माध्यमबाट उद्घाटन गरेका थिए । 

उद्घाटनपछि सम्बोधनको क्रममा ओलीले भने, ‘यो प्रतिगामी शक्तिहरूको गठबन्धन हो । यो देशलाई अस्थिरतामा धकेल्ने, अग्रगमन हुन नदिने, अनुशासन र अराजकता  निम्त्याउने र कम्युनिस्ट सरकार ढाल्ने र राज्यस्तरबाट भइरहेको छ यो प्रतिगमनको बाटो हो ।’ 

गठबन्धन दलले संवैधानिक संस्थाहरूमाथिको विश्वास कमजोर पारेको उनले आरोप लगाए । 

‘विभिन्न सट्टापट्टाका कुराहरू सुनिरहेका छौं । जसले संस्था, प्रक्रियामाथिको विश्वास कमजोर पार्छ र विस्तारै सिंगै प्रणालीमाथिको विश्वास कमजोर पार्छ । त्यसबाट हामी अलग रहन खोज्छौं,’ ओलीले भने । 

सम्बोधनको क्रममा ओलीले भने, ‘प्रतिगामी शक्ति गठबन्धनको नाममा आएको छ । यसले देशलाई अस्थिरतमा धकेल्ने, स्वेच्छाचारीता र मनपरीतन्त्र राज्यतहबाटै गर्ने देखिएको छ । अहिले भइरहेका गतिविधिहरू प्रतिगामी  गतिविधि हुन् । पाँच दलीय भनिएको प्रतिगामी गठबन्धन हो । कम्युनिष्ट आन्दोलन र सरकार ढाल्ने, जनविरोधी र दिशाहीन गतिविधि गरिरहेको छ ।’ 

पराजित हुँदै गएका शक्तिहरू एकजुट भएर एमालेमाथि आइलाग्ने प्रयासमा रहेको र आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गरेर सबै वडामा उनीहरूलाई पराजित गर्ने गरी तयारीमा लाग्न उनले निर्देशन दिएका छन् । 

‘सर्वसम्मतिमा नेतृत्व चयन गर्नू’

देशभरका करीब ६ हजारभन्दा बढी वडामा एकै पटक उद्घाटन भएको वडा अधिवेशनमा सर्वसम्मतिमा नेतृत्व चयन गर्न ओलीले निर्देशन दिएका छन् । 

ओलीले विधान महाधिवेशनले सर्वसम्मतिको बाटो तय गरेकाले त्यसैअनुसार नेतृत्व चयन गर्न भनेका हुन् । 

एमालेको आधारभूत संगठनमा रहेको करीब ६ हजारभन्दा बढी वडा कमिटीले अधिवेशनमार्फत नयाँ नेतृत्व पाउँदै छ । 

भर्चुअल सम्बोधनमा उनले भने, ‘प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने नीति लिएका छौं । विवेकको प्रयोगबाट साझा स्वीकार्यता पनि प्रतिस्पर्धा हो । प्रतिस्पर्धा भनेको दौड मात्रै होइन । लोकतान्त्रिक अभ्यासमा यसलाई पनि सामेल गरेर गएका छौं । सम्पूर्ण रुपमा लोकतन्त्र तर, त्यसमा विवेकहीन, अुनशासनहीन लोकतन्त्र होइन ।’

एमालेको प्रथम विधान महाधिवेशन सर्वसम्मतिमा सफल भएको र वडा अधिवेशनमा पनि त्यसको स्पिरिट कायम गर्न ओलीले भनेका हुन् । ‘विधान महाधिवेशनमा ६ हजार भन्दा बढी प्रतिनिधि सहभागी भए । ग्रुप छलफलहरू भए । त्यसको निष्कर्ष प्रस्तुत भए । कसैले पनि विपरीत खालको कुरा राखेनन् । सर्वसम्मतिमा महत्त्वपूर्ण दस्तावेज पारित भए । वडा अधिवेशनमा पनि त्यसको स्पिरिट कायम रहोस्,’ ओलीले भने । 

नेतृत्व विकास, कार्यदक्षता र समावेशी सहभागिताको सन्दर्भमा वडा अधिवेशनको विशेष महत्त्व रहेको उल्लेख गर्दै ओलीले वडा कमिटीहरू जननिर्वाचित संस्थासँग जोडिएकाले पनि त्यसको भूमिका महत्त्वपूर्ण रहेको बताए ।

लोकतान्त्रिक पार्टी भन्नेहरू नै महाधिवेशन गर्न नसकेर वर्षौं अलमलिइरहेको भन्दै ओलीले एमाले लोकतान्त्रिक प्रणालीको डिजाइनर भएको दाबी गरे । उनले भने, ‘लोकतन्त्र हाम्रो आदर्श हो हाम्रो आस्था हो । लोकतन्त्र अरूले स्थापना गरिदिएको र हामीले स्वीकारेको होइन । लोकतान्त्रिक प्रणालीको भवन निर्माण गर्ने डिजाइनर हामी हौं ।’

अहिले पनि एमाले सबै ठाउँमा मजबुत शक्ति भएको र एमालेको गणना एक नम्बरमा नै हुने उनले बताए । 

‘आज पनि सबै ठाउँमा सबैभन्दा मजबुत शक्ति हौं । स्थानीय तहमा पनि अरूभन्दा ठूलो शक्ति हौं । हाम्रो गणना एक नम्बरमै हुन्छ । हामी देशको प्रमुख पार्टी एमाले हो,’ ओलीले भने, ‘आगामी निर्वाचनबाट पनि थप शक्तिशाली बनाउने योजनामा छौं ।’

salt training

कमेन्ट गर्नुहोस्