२४ जेठ २०८३, आइतबार

बाढी प्रभावितका लागि छिटै राहत प्याकेज घोषणा गर्छु : देउवा

कात्तिक ७, २०७८
बाढी प्रभावितका लागि छिटै राहत प्याकेज घोषणा गर्छु : देउवा
तस्वीरः रासस

प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीबाट प्रभावित भएकालाई छिटोभन्दा छिटो राहत प्याकेज घोषणा गर्ने बताएका छन् । 

केही दिन अगाडि अविरल वर्षासँगै आएको बाढीका कारण प्रभावित भएकाको अवस्था हेलिकप्टरबाट निरीक्षण गरेपछि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराहा बाहिनी मुख्यालय पक्कली सुनसरीमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्षासँगै आएको बाढी, पहिरोका कारण सुदूरपश्चिम र प्रदेश १ मा ठूलो जनधनको क्षति भएकाप्रति दुःख व्यक्त गरे । 

विपद् ढोल बजाएर नआउने भएको तर अचानक आइदिएका कारण निकै नै क्षतिको सामना गर्नुपरेकाले यसबाट पीडित भएकाका लागि केही न केही छिट्टै राहतको प्याकेज ल्याउने प्रधानमन्त्री देउवाले जानकारी गराए । वर्तमान सरकारले विपदबाट प्रभावित भएकाका लागि केही न केही राहतको प्याकेज घोषणा गरिसकेको र बाँकी रहेको राहत प्याकेज काठमाडौं फर्किएपछि छिटै ल्याइने उनले विश्वास दिलाए । 

बाढीबाट अर्बौंको क्षति भएको जनाउँदै प्रधानमन्त्री देउवाले यसलाई निराकरण गर्न अल्पकालीन र दीर्घकालीन योजना नबनाइ नहुने भएकाले त्यसतर्फ पनि आफूले ध्यान केन्द्रित गरेको बताए । 

उनले बाढीले बिघौँबिघा धान नष्ट भएको, कतिपय ठाउँमा कृषकले लगाएको धान खेतमै कुहिएकाले किसानलाई खानका लागिसमेत समस्या हुने भएका कारणले छिट्टै राहतको प्याकेज घोषणा गर्ने बताए ।  रासस

salt training

कमेन्ट गर्नुहोस्