
मानव अधिकार तथा शान्ति समाजले अफगानिस्तानका नागरिकको मानव अधिकार र स्वतन्त्रता संरक्षणका लागि प्रभावकारी कदम चाल्न राष्ट्रसंघलाई आग्रह गर्दै काठमाडौं माइतीघर मण्डलमा प्रदर्शन गरेको छ ।
संयुक्त राष्ट्रसंघ स्थापना दिवस २४ अक्टोबरका अवसरमा समाजले आज धर्ना तथा प्रदर्शन गरेको हो ।
प्रदर्शनमा राष्ट्रसंघः अफगानिस्तानलाई नरक हुनबाट बचाऊ, तालिबानको शासनमा मानव अधिकार कहाँ छ रु, तालिबानको शासनमा स्वतन्त्रता कहाँ छ ?, तालिवानको पहिचानः महिलाको अपमान, तालिबानको शासनमा असुरक्षित महिला लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो ।
यसै गरी संयुक्त राष्ट्रसंघ स्थापना दिवसको अवसरमा शान्ति समाजका चितवन, दाङ, रुपन्देही शाखाहरूले प्रदर्शन गरेका छन् ।
बुटवलमा आयोजित प्रदर्शनमा केन्द्रीय सभापति गोविन्द खनालले तालिबानी शासन क्रुरताको पर्याय भएको बताउँदै अफगानिस्तानका नागरिकको मानव अधिकार रक्षाका लागि राष्ट्रसंघले विशेष पहल गर्नुपर्नेमा जोड दिए ।