
युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले खेलाडीहरूको मनोबल बढाउन सरकारले ध्यान दिने बताएका छन् ।
आइतवार युवा तथा खेलकुद मन्त्रालयमा बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एशियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिप खेल्न बंगलादेश जान लागेका खेलाडी तथा प्रशिक्षकहरूको बिदाइ गर्दै मन्त्री गहतराजले खेलाडीहरूको मनोबल बढाउन व्यवस्थापकीय कुराहरूमा मन्त्रालयले ध्यान दिने बताएका हुन् ।
उनले खेलाडीहरूको मनोबल बढाउनका लागि मन्त्रालयले नयाँ तरिका र नयाँपन अपनाइरहेको बताए । मन्त्री गहतराजले खेलका बेला मात्रै खेलाडीहरूलाई राष्ट्रका गहना भन्ने र अरू बेला घर फर्काइदिने परिपाटी उचित नभएको बताउँदै यो परिपाटीलाई सरकारले गम्भीरताका साथ लिने र खेलकुद क्षेत्रको प्रगतिमा मन्त्रालय लागि पर्ने बताए ।
मन्त्री गहतराजले खेलाडीहरूलाई नेपाली माटो र गौरव गाथालाई सम्झिएर खेल्न आग्रह गरे ।
बंगलादेशको ढाकामा हुने पाँचौं सेन्ट्रल साउथ एसियन आर्टिस्टिक जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन राष्ट्रिय सिनियर र जुनियर टीमका खेलाडीहरूलाई मन्त्री गहतराजले बिदाइ गरेका हुन् । जिम्न्याष्टिक च्याम्पियनसिपमा सहभागी हुन १२ जना खेलाडी सोमवार बंगलादेश प्रस्थान गर्नेछन् ।