
नेकपा एमालेले केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा सार्ने भएको छ ।
एमालेको केन्द्रीय कार्यालय सञ्चालनको लागि एमालेले तुलसीलाल स्मृति प्रतिष्ठानसँग सम्झौता गरेको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले सामाजिक सञ्जाल फेसबुकमा नेकपा एमाले र तुलसीलाल स्मृति प्रतिष्ठानबीचमा महत्त्वपूर्ण समझदारी भएको र केही समयपछि एमाले केन्द्रीय कार्यालयबाट सम्पन्न गरिने सम्पूर्ण काम त्यहीँबाट हुने उल्लेख गरेका छन् ।
एमालेले गत वर्ष चैतमा धुम्बाराहीबाट केन्द्रीय कार्यालय थापाथलीमा सारेको थियो ।
थापाथलीका एक व्यापारीको घरमा एमालेको कार्यालय बनाएको थियो । केन्द्रीय कार्यालय सञ्चालनको लागि पर्याप्त ठाउँ नभएपछि एमालेले विकल्प खोजिरहेको थियो । थापाथलीको कार्यालयमा पार्किङको मुख्य समस्या थियो भने पार्टीको स्थायी कमिटीको समेत बैठक राख्ने ठाउँ थिएन ।
एमालेको सबै बैठकहरू तुलसीलाल स्मृति प्रतिष्ठानमा नै गर्दै आएको छ ।
उक्त प्रतिष्ठानमा नै एमालेको स्कूल विभागको कार्यालय र बागमती प्रदेश कमिटीको कार्यालय पनि रहेको छ ।
२०७२ को भूकम्पका कारण बल्खुस्थित एमालेको मुख्यालयमा क्षति पुगेपछि एमालेले धुम्बाराहीमा रहेको पासाङ ल्हामू स्मृति प्रतिष्ठानमा कार्यालय सारेको थियो ।
चक्रपथ विस्तारका कारण आवतजावतमा समस्या हुने भएपछि एमालेले धुम्बाराहीबाट थापाथलीका कार्यालय सारेको थियो ।
च्यासलमा रहेको तुलसीलाल स्मृति प्रतिष्ठानमा एमालेले संग्रहालय पनि बनाइदिने सहमति गरेको छ ।