
देशैभर एकैसाथ आयोजना गरिएको एमालेको वडा अधिवेशनले गाउँका चोक र गल्लीहरूमा चुनावको झल्को आउन थालेको छ ।
वडा र पालिकास्तरमा सकिएको कांग्रेस अधिवेशन, नेकपा समाजवादीको संगठन निर्माणसँगै एमालेले शुरू गरेको वडा अधिवेशनहरूले चाडपर्वसँगै गाउँ–गाउँमा राजनीतिक उत्सव सिर्जना भएका छन् ।
कात्तिक ६ गते एमालेले देशभर आयोजना गरेको वडा अधिवेशनअन्तर्गत एमाले गुल्मीले प्राविधिक कारण ९ वडा बाहेक ८४ वडामा सर्वसम्मत नेतृत्व चयन गरेको छ ।
अहिलेसम्म मदाने गाउँपालिका–३ मा अध्यक्ष पदका लागि तीन आकांक्षी देखिएपछि निर्वाचनको सम्भावना रहेको छ । त्यो बाहेक अरू ८ वडामा अन्य प्राविधिक कारणले अधिवेशन आइतवार र सोमवार सारिएको नेकपा एमालेका जिल्ला अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए ।
अहिलेसम्म रेसुंगा नगरपालिका, मुसिकोट नगरपालिका, इस्मा गाउँपालिका, छत्रकोट गाउँपालिका, रुरु क्षेत्र गाउँपालिका, कालीगण्डकी गाउँपालिका र चन्द्रकोट गाउँपालिकाका सवै वडामा सर्वसम्मत नेतृत्व टुंगो लगाइएको छ ।
नेकपा एमाले जिल्ला कमिटी सदस्य रीतबहादुर थापाका अनुसार मालिका गाउँपालिकाका वडा नं ४, ५, ६ र ८ वडामा वडा अधिवेशन भएन । अरू चार वडामा सर्वसम्मत नेतृत्व चयन भएका छन् ।
बाँकी वडामा आइतवार र सोमवार अधिवेशन हुने थापाले बताए । त्यस्तै धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउँको वडा अधिवेशन मंगलवारको लागि सारिएको छ । अरू ६ वडामा सर्वसम्मत नेतृत्व चयन भएको एमाले नेता नारायण पोख्रेलले जानकारी दिए । मदाने गाउँपालिकाका ३ र ४ मा बाहेक ५ वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
वडा नं ४ मा वडाध्यक्ष भीमप्रसाद भट्राईका बुबाको निधनको कारण अधिवेशन सरेको छ । वडा नं ३ मा अध्यक्ष पदमा तीन जनाको उम्मेद्वारी परेकाले सोमवार पुनः सर्वसम्मत वा निर्वाचन गराउने एमाले सचिव सोमनाथ सापकोटाले जानकारी दिए । त्यस्तै सत्यवति गाउँपालिका ८ र गुल्मी दरवार गाउँपालिकाको १ र ३ वडाको अधिवेशन प्राविधिक कारणले कात्तिक ६ गते रोकिएका ३ वडाहरूको अधिवेशन आइतवार हुने सापकोटाले बताए ।
जिल्लामा एकैसाथ वडा अधिवेशन गर्न जिल्ला कमिटी र संगठनहरूबाट एक जना सहजकर्ता र एक जना निर्वाचन अधिकृत तोकेर गाउँगाउँमा पठाएको एमाले गुल्मीले जनाएको छ ।