
बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगबाट परिचयपत्र प्राप्त गरेका द्वन्द्वपीडितले त्यही परिचयपत्र देखाएर सिंहदरबारमा प्रवेश पाउने भएका छन् ।
आइतवार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाण र आयोगका पदाधिकारीबीच भएको छलफलमा आयोगले जारी गरेको परिचय पत्र वाहकलाई सिंहदरबारमा प्रवेश दिने सहमति बनेको हो ।
आयोगका अध्यक्ष युवराज सुवेदी, सदस्यहरू विश्वप्रकाश भण्डारी, डा. गंगाधर अधिकारी, सुनिल रंजन सिंह र सरिता थापा तथा सचिव श्यामकुमार भट्टराई आयोगले अहिलेसम्म गरेका काम र अब गृह मन्त्रालयसँगको समन्वय गर्ने कामबारे छलफल गर्न मन्त्रालयमा आएका थिए ।
छलफलमा गृह मन्त्रालयका तर्फबाट मन्त्री खाण, सचिव टेकनारायण पाण्डे र मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेल सहभागी थिए ।
आयोगका पदाधिकारीले तत्कालका लागि आयोगले परिचय पत्र प्रदान गरेका द्वन्द्वपीडितलाई त्यही पास देखाएर सिंहदरबार छिर्ने व्यवस्था गरिदिन आग्रह गरेका थिए ।
सो आग्रह अनुरुप आयोगको परिचयपत्र भएकाहरूलाई सिंहदरबारमा प्रवेश गर्न दिने व्यवस्था मिलाउन गृहमन्त्री खाणले निर्देशन दिएको गृहप्रवक्ता पोखरेलले जानकारी दिए ।
गृहमन्त्री खाणसहित मन्त्रालयका पदाधिकारी र आयोगका पदाधिकारीबीच पीडित परिवारलाई राहत उपलब्ध गराउने, आयोगले परिचय पत्र दिएका व्यक्तिहरूले पाउने सेवा सुविधा, बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ मा संशोधनलगायत विषयमा छलफल भएको थियो ।
आयोगले अहिलेसम्म ७४४ परिवारका एक हजार ३७८ जनालाई परिचय पत्र प्रदान गरेको छ ।
आयोगका प्रवक्ता डा. गंगाधर अधिकारीका अनुसार आयोगमा अहिलेसम्म तीन हजार २४३ ले आफ्नो परिवारका सदस्य बेपत्ता भएको भनेर उजुरी दिएका छन् । त्यसमध्ये आयोगले दुई हजार ४९७ उजुरीमाथि विस्तृत अनुसन्धान भइरहेको प्रवक्ता डा। अधिकारीले जानकारी दिए ।