काठमाडौं, ७ असार –झण्डै सबा ६१ करोड रुपैयाँ भ्रष्टाचारको अभियोगमा ३ जना उपसचिवसहित ८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको घटना सेलाउन नपाउँदै यातायात व्यवस्था कार्यालय कोशी (सवारी), इटहरीका अर्का एक कर्मचारीलाई घूस रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।
उक्त कार्यालयमा कार्यरत् नायव सुब्बा (नासू) विनोदप्रसाद दाहाललाई अख्तियारले घूस रकमसहित नियन्त्रणमा लिएको हो ।
नासू दाहालले सवारी साधन अञ्चलीकरण सरुवा गरेबापत सेवाग्राहीसँग ५ हजार रुपैयाँ घूस लिँदै गरेको अवस्थामा अख्तियारले नियन्त्रणमा लिएको हो ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम कसूर पुष्टि भएको भन्दै अख्तियारले दाहाललाई पाँच हजार रुपैयाँ बिगोसहित कैद सजाय माग दावी लिई बुधवार विशेष अदालतमा मुद्दा दायर गरेको छ ।