०७ असार २०८३, आइतबार

मुख्यमन्त्री राजेन्द्र पाण्डेको पहिलो निर्णय : ११९ विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क पढाउने

कात्तिक १२, २०७८
मुख्यमन्त्री राजेन्द्र पाण्डेको पहिलो निर्णय : ११९ विद्यार्थीलाई प्राविधिक शिक्षा निःशुल्क पढाउने
फाइल फोटो

बागमती प्रदेश सरकारले ११९ विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषय पढाउने भएको छ ।

बिहीवार साँझ नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेकोे नेतृत्वमा बसेको पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशका ११९ वटै पालिकाका एसईई उत्तीर्ण गरेका दलित, लोपोन्मुख तथा पिछडिएका वर्गबाट छनोट गरी ११९  विद्यार्थीलाई सरकारको खर्चमा प्राविधिक विषयमा अध्ययनको व्यवस्था मिलाउने निर्णय गरेको हो ।

कार्यक्रम कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयले आगामी १५ दिनभित्र कार्यविधि तयार पारेर पेश गर्न समेत सम्बन्धित मन्त्रालयलाई निर्देशन दिइएको आन्तरिक मामिला तथा कानूनमन्त्री कृष्णप्रसाद खनालले बताए । सरकारले प्रदेशका सबै पालिकाबाट विद्यार्थी छनोट गरी इच्छाएको विषय अध्ययन गर्ने व्यवस्था मिलाउने र अध्ययनपश्चात सम्बन्धित पालिकामा सरकारले ताकेको निश्चित समय सेवा गर्नुपर्ने निर्णय गरिएको उनले बताए ।

मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारको प्रवक्तामा आन्तरिक मामिला तथा कानूनमन्त्री  खनाललाई नियुक्त गर्ने निर्णय गरेको छ । नेकपा एकीकृत समाजवादीका तर्फबाट पहिलोपटक सत्ता सम्हालेका मुख्यमन्त्री पाण्डेलाई बिहीवार नै प्रदेश प्रमुख यादवचन्द्र शर्माले शपथग्रहण गराएका थिए ।

मुख्यमन्त्री पाण्डेको सिफारिसमा प्रदेश प्रमुख शर्माले सामाजिक विकासमन्त्रीमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका उपनेता कुमारी मोक्तान, भौतिक पूर्वाधार विकासमन्त्रीमा नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता कृष्णलाल भडेल र आन्तरिक मामिला तथा कानून मन्त्रीमा नेकपा एकीकृत समाजवादी बागमती प्रदेशका संसदीय दलका उपनेता कृष्णप्रसाद खनाललाई पद तथा गोपनीयताको शपथग्रहण गराएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्