०१ असार २०८३, सोमबार

प्रधानन्यायाधीश जबराले राजीनामा नदिए महाअभियोग लगाउनुपर्छ : शान्ति समाज

कात्तिक १२, २०७८
प्रधानन्यायाधीश जबराले राजीनामा नदिए महाअभियोग लगाउनुपर्छ : शान्ति समाज

मानव अधिकार तथा शान्ति समाजले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग गरेको छ । राणाले राजीनामा नदिए महाअभियोगको प्रक्रिया अगाडि बढाउन समाजले संसदमा प्रतिनिधित्व गर्ने दलहरूलाई आग्रह गरेको हो । 

‘यो असामान्य अवस्थालाई सामान्यीकरण गर्ने प्रमुख दायित्व प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको भएको हुँदा प्रधानन्यायाधीश राणाले शीघ्र राजीनामा दिई निकास दिन मानव अधिकार तथा शान्ति समाज आग्रह गर्दछ,’ जारी प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रधानन्यायाधीशले राजीनामा नदिएको खण्डमा महाअभियोगको प्रक्रिया अघि बढाई वर्तमान प्रधानन्यायाधीशको बहिर्गमन सुनिश्चित गर्न संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलहरूलाई शान्ति समाज आग्रह गर्दछ ।’

लामो समयदेखि न्यायिक स्वतन्त्रता, निष्पक्षता, दक्षता र पारदर्शिताबारे न्यायिक नेतृत्वहरूलाई ध्यानाकर्षण गराउँदै आएको भन्दै समाजले राजनीतिक वा अन्य दबाब वा प्रलोभनबाट न्यायाधीशहरूको नियुक्ति र बढुवा प्रभावित हुन नहुनेमा जोड दिएको छ । 

‘प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा/बर्हिगमन न्यायिक क्षेत्रमा शुद्धीकरणको पहिलो पाइला हुन सक्छ । त्यसपछि राजनीतिक पहुँचको आधारमा नियुक्त भएका अन्य न्यायाधीशहरूको बर्हिगमन पनि त्यत्तिकै आवश्यक छ भन्ने शान्ति समाजको धारणा छ,’ विज्ञप्तिमा उल्लेख छ, ‘न्यायालयमा राजनीतिक स्वार्थ प्रेरित नियुक्तिलगायत राजनीतिक दलहरूले गरेको गम्भीर त्रुटिका बारेमा पनि सार्वजनिक बहस प्रारम्भ गरी भविष्यमा त्यस्तो गम्भीर त्रुटि नदोहोरिने प्रक्रिया सुनिश्चित गर्नुपर्छ ।’

salt training

कमेन्ट गर्नुहोस्