
बहिर्गमित जनमुक्ति सेना, नेपालले विभिन्न १० बुँदे माग राख्दै कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापन पत्र बुझाएको छ ।
गृह मन्त्रालयमा शुक्रवार संगठनका इञ्चार्ज असिम आङबुहाङ लिम्बु, अध्यक्ष रमेश बसेलसहितको प्रतिनिधि मण्डलले ‘बहिर्गमित जनमुक्ति सेना नेपालको माग मुद्दा सम्बोधन सम्बन्धी प्रस्तावना बारे’ शीर्षकमा कार्यवाहक प्रधानमन्त्री खाँणलाई ज्ञापन पत्र बुझाएको हो ।
ज्ञापन पत्र बुझ्दै कार्यवाहक प्रधानमन्त्री खाँणले माग अध्ययन गरेर सम्बोधन गर्न सकिने भएमा पहल गर्ने बताए ।
‘हामी तपाईहरूले ज्ञापनपत्रमार्फत बुझाएका माग अध्ययन गर्छौ । त्यसपछि के गर्न सकिन्छ भनौँला,’ खाणले भने।
संगठनका अध्यक्ष बसेलले शान्ति प्रक्रियासँग जोडिएको मुद्दा भएकोले सम्बोधनको पहल गरिदिन आग्रह गर्नु गरेका थिए ।
संगठनले वृहत् शान्ति सम्झौता पश्चात सैन्य शिविरमा राखी अनमिनले गरेको माओवादी लडाकु प्रमाणीकरणमा योग्यता नपुगेको भन्दै चार हजार नौ जना बहिर्गमनमा पारेको ज्ञापन पत्रमा उल्लेख गरेको छ ।
ज्ञापन पत्रमा बहिर्गमित जनमुक्ति सेनाका घाइते तथा अपांगता भएकाहरूको वर्गिकरण गरी परिचयपत्र प्रदान गर्ने, सोही परिचय पत्रका आधारमा सरकारले सम्पूर्ण उपचार खर्च व्यहोर्ने, विभिन्न बहानामा जेल परेका बहिर्गमितहरूलाई निःशर्त रिहा र आम माफी दिन पर्ने लगायतका माग राखिएको छ ।