
नेपाल आयल निगमले डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले शुक्रबार मध्यरातदेखि लागु हुने गरी डिजेल र पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँले वृद्धि गर्ने निर्णय गरेको हो ।
यससँगै अब डिजेलको मूल्य प्रतिलिटर ११६ रुपैयाँ र पेट्रोलको मूल्य १३३ रुपैयाँ पुगेको छ। यस्तै मट्टितेलको मूल्य पनि रु ३ नै बढेर प्रतिलिटर ११६ रुपैयाँ पुगेको छ । यसअघि पेट्रोलको मूल्य प्रतिलिटर १३० र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ रहेको थियो ।
यसैगरी हवाइ इन्धनमा आन्तरिकतर्फ साविकको विक्री मूल्यमा प्रतिलिटर रु १० बढाएर ९६ रुपैयाँ बनाइएको छ भने अन्तर्राष्ट्रिय हवाइ इन्धनको मूल्य प्रतिकिलोलिटर ८५३ अमेरिकी डलर कायम गरिएको छ ।