जाडो मौसमसँगै दिन प्रतिदिन चिसो बढ्दैछ । यही बेला बालबालिकासँगै ज्येष्ठ नागरिकलाई निमोनियाको जोखिम हुन सक्छ । यद्यपि समयमै खोप लगाए रोकथाम हुन सक्ने चिकित्सकको भनाइ छ ।
कोरोना भाइरस संक्रमितलाई निमोनियाले थप समस्या हुने भएकाले इन्फ्लुएन्जा र निमोनिया नियन्त्रणका लागि खोप लगाउनु राम्रो हुने सुझाव दिइएको छ । ती खोपहरूले कोभिड–१९ संक्रमणबाट नजोगाउने भए पनि ज्येष्ठ नागरिकलाई इन्फ्लुएन्जा र निमोनियाजस्ता घातक रोगबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्न सक्ने छाती रोग विशेषज्ञ डा. रक्षा पाण्डेले बताइन् ।
नेपालमा सरकारी कार्यक्रममा बालबालिकालाई निमोनियाको खोप दिने कार्यक्रम सन् २००९ यता समावेश गरिएको छ तर वयस्क र ज्येष्ठ नागरिकलाई लक्षित खोपको व्यवस्था छैन । जाडो मौसममा निमोनिया लाग्ने जोखिम बढेका कारण ज्येष्ठ नागरिकले अनिवार्य रूपमा खोप लगाउन डा. पाण्डेको सुझाव छ । उनले भनिन्, ‘ब्याक्टेरियल निमोनिया विरुद्वको खोप ६५ वर्ष नाघेकाले एक पटक मात्र खोप लगाए जीवनभर पुग्छ ।’
‘खोप लगाउने समय यही बेला हो,’ उनले भनिन्, ‘दमलगायत रोगले सताएका बिरामीलाई निमोनियाको जोखिम धेरै हुन्छ । त्यसैले दीर्घरोगी भएका ज्येष्ठ नागरिकले बढी ख्याल गर्नुपर्छ ।’
उमेर ६५ वर्ष नपुगेको भए पनि फोक्सो, मुटु वा कलेजोको रोग, मधुमेह वा क्यान्सर भएका अनि रोग प्रतिरोधी क्षमता कम भएका जुनसुकै उमेरका व्यक्तिले निमोनियाको खोप लिनु राम्रो हुने जानकारी उनले दिइन् । हरेक वर्ष विश्व स्वास्थ्य संगठनको सिफारिसमा ‘भाइरसको स्ट्रेन’ हेरेर नयाँ नयाँ इन्फ्लुएन्जाको खोप आउने गरेको उनले उल्लेख गरिन् ।
‘६ महिनाभन्दा बढी उमेरका सबैले यो खोप लगाएको राम्रो हो, किनभने धेरैमा प्रतिरोधी क्षमता भयो भने जोखिममा रहेका व्यक्तिलाई रोग सार्ने सम्भावना कम हुन्छ । ज्येष्ठ नागरिक र अरू रोग भएकाहरूले झनै लगाउनुपर्ने देखिन्छ,’ उनले भने ।
परिवार कल्याण महाशाखाअन्तर्गतको बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख सागर दाहालले बालबालिकाबाहेक अरूलाई नियमित तालिका बनाएर सरकारले खोप वितरण गर्ने व्यवस्था नभएको बताए । उनले भने, ‘बजारमा फ्लु र निमोनिया विरुद्धका खोप उपलब्ध छन् । ती खोपहरू ज्येष्ठ नागरिकले लिन सक्नुहुन्छ । कुनै स्थानीय तहले यस्ता खोप दिन थालेका छन् ।’
यसैबीच, ललितपुर महानगरमा ज्येष्ठ नागरिकलाई निमोनिया रोग विरुद्धको खोप (पीसीभी–१३) दिइँदैछ । कात्तिक १४–१७ गतेसम्म सञ्चालन हुन लागेको कार्यक्रममा ७४ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकलाई निमोनिया विरुद्धको खोप दिइने महानगरले जनाएको छ ।
नागरिकता प्रमाणपत्र र वडा कार्यालयबाट प्रमाणित भई आएको नामावलीको आधारमा ज्येष्ठ नागरिकलाई खोप दिइने जनाइएको छ । अभियानअन्तर्गत २९ वटै वडामा पहिलो चरणको खोप अभियान सञ्चालन हुनेछ । पहिलो चरणको अभियानअन्तर्गत ७४ वर्ष माथिकालाई खोप लगाइसकेपछि ७० देखि ७३ वर्ष उमेर समूहका लागि दोस्रो चरणमा खोप अभियान सञ्चालन गर्ने महानगरले जनाएको छ । गोरखापत्रमा खबर छ ।