०७ असार २०८३, आइतबार
राजनीतिसँगै खेलकुद

पाखुरामा दम भएका ओलम्पियन मन्त्री हमाल

कात्तिक १३, २०७८
पाखुरामा दम भएका ओलम्पियन मन्त्री हमाल

प्रदेश स्थापनापछि सुरेन्द्रबहादुर हमालको नाम मन्त्रीका लागि चर्चामा थियो तर तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रको चुनावी गठबन्धनले सरकार बनाउने गरी निर्वाचन जितेपछि कांग्रेसको सरकार बन्ने अवस्था रहेन । 

३ वर्षपछि लुम्बिनीमा नेकपाबाट एमाले र माओवादी केन्द्र अलग–अलग भएर मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार ढलेपछि खेलकुद र राजनीतिलाई समानान्तर रूपमा लिएर हिँडेका उनै हमाललाई लुम्बिनीमा मन्त्री बन्ने अवसर जुर्‍यो ।

भारत्तोलनमा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी हमाल लुम्बिनी प्रदेशका नवनियुक्त वन, वातावरण तथा भूसंरक्षण मन्त्री हुन् । प्रदेशमा कांग्रेसी राजनीतिमा हमाल चर्चित नाम हो । अझै त्योभन्दा पनि धेरै खेलाडीमा रूपमा चिनिन्छन् उनी । 

बाँके जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभा सदस्यमा प्रत्यक्ष निर्वाचित सांसद हमाल मन्त्री हुनुअघि कांग्रेस प्रदेशसभा प्रमुख सचेतक थिए । हमाल प्रधानमन्त्री शेरबहादुर देउवाले गैरसांसदबाट उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री बनाएका गजेन्द्रबहादुर हमालका सहोदर भाइ हुन् । 

आफू खेलाडी भएको हुँदा हमालको रुचि युवा तथा खेलकुद मन्त्रालयप्रति थियो । खेलकुदमा शिक्षा मन्त्रालयमा पनि जोडिएर उनले त्यो मन्त्रालय लिएनन् । माओवादी केन्द्रका नेता कूलप्रसाद केसी नेतृत्वको ५ दलीय गठबन्धनबाट ‘जम्बो’ मन्त्रिमण्डल बनाउँदा हमालको भागमा वन, वातावरण मन्त्रालय आइलाग्यो । हमाल भारत्तोलन खेलका अन्तर्राष्ट्रिय खेलाडी हुन् ।

हमालले भारत्तोलनमा नेपाललाई पहिलोपल्ट अन्तर्राष्ट्रिय पदक दिलाएका छन् । ‘२०४१ सालमा धनगढीमा राष्ट्रिय भारत्तोलन थियो । त्यहाँ नेपालको बलियो व्यक्तिको उपाधि र बेस्ट लिफ्टरको उपाधि मैले जितेको हुँ,’ हमालले भने ।

२०४१ सालमा ३५औं एसियन च्याम्पियनशिपको स्न्याचमा तेस्रो बनेर पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउन सफल भएको हमाल बताउँछन् । उनले ओलम्पिकमा भारत्तोलनमा ६७.७ उमेर समूहमा प्रतिस्पर्धा गरेका थिए । उनी खेलकुदमा सन् १९८४ मा ओलम्पिकमा सहभागी भएका थिए । भारत्तोलनको अन्तर्राष्ट्रिय ‘ए’ लेभलको रेफ्री पनि हुन् उनी ।

हमालले नेपालको तर्फबाट विभिन्न प्रतियोगितामा सहभागी हुँदै १३ वटा जितेर देशको गौरव बढाएका थिए । 

अहिले मन्त्री हुँदा सक्रिय खेलजीवनमा नरहे पनि शारीरिक रूपमा पुनर्जीवन पाएका सुरेन्द्रमा सामाजिक र खेल गतिविधिबाट युवापुस्तालाई सफलता र सत्मार्गमा डोर्‍याउन सक्ने क्षमता र दृढता दुवै छ । उनले आत्मकथा ओलम्पियन पुस्तक पनि लेखेका छन् ।
 
२०३७ सालमा नेपालगञ्जमा भएको भारत्तोलन प्रतियोगिता हेरेपछि खेलतर्फ उनको रुचि बढेको हो । ‘त्यहाँ प्रतियोगिता हेर्न म पनि गएको थिएँ,’ हमालले भने, ‘बलियो जीउडाल भएका म जस्तै खेलाडी खेल्न सक्ने रहेछन्, म पनि खेल्न सक्छु भनेर लागेको थिएँ ।’
 
भारतको दिल्लीमा आयोजित एसियन खेलकुद (सन् १९८२), लासएन्जेल्स ओलम्पिक (सन् १९८४) र एसियन गेम चीनको बेइजिङ (सन् १९९०) मा उनले पोजिसनको लागि डिप्लोमा उपाधि पाएका थिए । 

खेलकुदमा लागेको ४ वर्षमै ‘स्ट्रोङ्गेस्ट म्यान अफ नेपाल २०४१’ उपाधि पाएका उनी बेस्ट लिफ्टर (सर्वोत्तम खेलाडी) २०४१ बाट पनि पुरस्कृत भएका हुन् । भारत्तोलनभन्दा अगाडि उनी टेबलटेनिस खेल्थे । नेपालगञ्जको भारत्तोलनपछि उनको खेल जीवन पाखुरामा दम देखाउने खेलतर्फ मोडियो ।

उनी नेपाल भारत्तोलन संघका पूर्व उपाध्यक्ष पनि हुन् । खेलसँगै हमालले २०७२ सालमा राष्ट्रिय खेलकुद परिषद्को कोषाध्यक्षको भूमिका रहेर पनि काम गरेका छन् । 

हमालले कांग्रेसभित्र इमान्दार र अध्ययनशील नेताको छाप पनि बनाएका छन् । ‘राजनीतिसँगै खेलका प्रतियोगितामा भाग लिन छाडे पनि खेलको विकासका लागि व्यवस्थापकीय रूपमा सहभागी हँुदै आएको थिएँ । अब मन्त्री भएको छु । मैले सम्हालेको मन्त्रालय खेलकुद नभए पनि खेलकुदको विकासमा ध्यान छ,’ उनले भने । 

२०१९ असोज ६ गते बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२ घरबारीमा जन्मिएका मन्त्री हमाल २०३५ सालदेखि नेपाल विद्यार्थी संघर्षबाट राजनीतिमा पनि जोडिएका थिए । परिवारका ६ दाजुभाइमध्ये सुरेन्द्र राइँला हुन् । 

खेलकुदसँगै राजनीतिबाट समाज परिवर्तन गर्नुपर्छ भनेर पूर्णकालीन कांग्रेस राजनीतिमा सक्रिय भएर अहिले मन्त्री बन्ने अवसरसम्म आइपुगेको उनी बताउँछन् । उनी २०४९ सालमा कांग्रेसबाट तत्कालीन नेपालगञ्ज नगरपालिकाको उपमेयर समेत भएका थिए । हमालले महेन्द्र बहुमुखी क्याम्पस नेपालगञ्जबाट कानून विषयमा प्रविणता प्रमाणपत्र तह उत्तीर्ण गरेका छन् । उनले ४ वर्ष अगाडि क्यान्सर जस्तो जटिल रोगलाई जितिसकेका छन् । 

विद्यार्थी आन्दोलनबाट राजनीतिमा संलग्न मन्त्री हमालको खेलकुद, शिक्षा र पूर्वाधार निर्माणमा रुचि छ । ‘नेपाल खेलको उर्वर भूमि हो तर खेलाडीलाई खेलमै टिकिरहेर काम गर्ने अवस्था छैन । त्यसैले खेलकुद क्षेत्रमा सकेसम्म केही गर्नुपर्छ भन्ने छ । म खेलमन्त्री नभए पनि हाम्रो क्याबिनेटदेखि शिक्षा, विज्ञान, युवा तथा खेदकुद मन्त्री बसिउद्धिन खाँलाई व्यक्तिगत पनि सुझाव दिएर खेलको विकासमा लाग्छौं,’ उनले भने ।

खेलकुदमा हालसम्म राज्यको खासै ध्यान पुग्न सकेको छैन । खेल जीवनमा आफूले भोगेको अभाव र खेलाडीका समस्या मन्त्री भएपछि पूर्ति गर्न उनी चाहन्छन् । ‘खेलको विकासको लागि मलाई प्रोत्साहन छ,’ उनले भने, ‘छोटो कार्यकाल छ, मैले केही गरेर देखाउनुपर्ने छ ।’

लुम्बिनीमा माओवादी केन्द्र र कांग्रेसबीच ८/८ महिना  आलोपालो सरकार चलाउने सहमति भएको भन्ने कांग्रेस–माओवादीका नेताहरू नै बताउँछन् । सरकारको नेतृत्वकर्ता फेरिँदा मन्त्रीहरू पनि फेरिने अवस्था आयो भने हमालको सत्ता यात्रा पनि क्षणिक नै हुने देखिन्छ । आउँदै गरेको निर्वाचनको समयमा जनतालाई छुने गरी काम गरेर आफ्नो र कांग्रेसको लोकप्रिय बढाउनुपर्ने दबाब पनि मन्त्री हमाललाई छ ।

छोटो अवधिलाई उनले कसरी उपयोग गर्छन् त्यो भने आउने दिनले नै देखाउने छ तर विकासप्रेमी, असल र इमान्दार नेता र मन्त्रीका रूपमा आफूलाई कार्यकर्ताले चिनून् भन्ने हमालको चाहना छ । खेलकुदकै सिलसिलामा उनी अमेरिका, रसिया, चीन, इरान, इराक, पाकिस्तान लगायत दर्जनभन्दा बढी देशमा पुगेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्