
एएफसी यु-२३ एशिया कप छनोट चरणको अन्तिम खेलमा नेपालले आज लेबनानको सामना गर्नेछ ।
यसअघिका दुवै खेलमा पराजित भएको नेपाल समूह चरणको अन्तिम खेलमा जित हासिल गर्दै प्रतियोगिताको सुखद् अन्त्यको लक्ष्यमा छ । नेपाल र लेबनानबीचको खेल आज अपराह्न ४ः४५ बजे ताजिकिस्तानको रिपब्लिकन सेन्ट्रल स्टेडियममा हुनेछ ।
नेपाल र लेबनानका लागि यो खेल प्रतिष्ठाको लागि मात्र हुनेछ । दुवै टोली अघिल्ला दुई खेलमा पराजित भइसकेका छन् भने प्रतियोगिताबाट पनि बाहिरिसकेका छन् ।
समूह ‘बी’ मा रहेको नेपाल पहिलो खेलमा इरानसँग ४–० गोलअन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा घरेलु टोली ताजिकिस्तानसँग ६–० गोअन्तरले पराजित भएको थियो ।
ताजिकिस्तान र इरान समान दुई खेलमा समान शीर्ष ६ अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । तेस्रो स्थानका लेबनान र चौथो स्थानको नेपाल अंकविहीन छन् । त्यस्तै ताजिकिस्तान र इरानविरुद्धको खेलले समूह ‘बी’ को विजेताको टुंगो लाग्ने छ । यस समूहको शीर्ष टोलीले एएफसी यु २३ एशियन कप खेल्नेछन् ।
यस्तै दोस्रो टोलीमध्ये उत्कृष्ट चार टोली पनि यू–२३ एशियन कपमा छनोट हुनेछन् । उज्वेकिस्तानमा हुने फाइनल चरणको प्रतियोगिता आगामी सन् २०२२ को जुन १ देखि १९ तारिखसम्म हुने तालिका छ ।