
विश्व शान्तिको मुहान बुद्धजन्मस्थल लुम्बिनीमा प्राचीन कलासहितको नेपाली विहार निर्माण गरिएको छ । नेपाली लगानीमै ३५० वर्षपछि यो शैलीको बज्रयानी महाविहार निर्माण भएको हो ।
लिच्छवीकालीन, मल्लकालीन काष्ठकला, कलाकृतिले सजिएको विहार आइतवार राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गरेकी छन् । नेपालीकै दानदातव्यबाट विहार निर्माण गर्ने योजना बनाइएको थियो । उद्घाटनलगत्तै राष्ट्रपति भण्डारीले लुम्बिनीको मायादेवी मन्दिर लगायतमा मन्दिरको पनि दर्शन गरेकी छन् ।
विहारका अध्यक्ष प्रा.डा.नरेशमान बज्राचार्यले स्वदेशी लगानीमै विहार तयार भएको बताए । नेपालमा यो शैलीको विहार ३५० वर्षयता नबनेको उनले बताए । विहारको पहिलो तलाको काष्ठकला निर्माणमा काठमाडौं महानगरपालिकाले ४ करोड २९ लाख रकम सहयोग दिएको थियो । सो लगानीबाट मण्डला तयार भएको छ ।
यो विहार निर्माणमा करीब १६ करोड खर्च भएको छ । एक बिगाहा क्षेत्रफलमा विहार निर्माण गरिएको हो । लुम्बिनीमा स्वदेशी लगानीमै बज्रयानी विहार निर्माण भएको यो पहिलो हो । प्राचीन संस्कृति झल्किने काष्ठकला प्रयोग गरिएकाले यो विहार निकै आकर्षक रहेको छ ।


