३१ असार २०८३, बुधबार
राजनीतिक ध्रुवीकरणको प्रयास

प्रचण्डको अभिव्यक्तिले ल्याएको तरंग– तत्काल सम्भव छ माओवादी–जसपा एकता ?

कात्तिक १४, २०७८
प्रचण्डको अभिव्यक्तिले ल्याएको तरंग– तत्काल सम्भव छ माओवादी–जसपा एकता ?

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले शनिवार सर्लाहीको एक कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) र माओवादी केन्द्रबीच एकताको प्रस्ताव गरेका छन् । 

जसपासँग मात्रै होइन, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादीबाटै छुट्टिएर गएका मोहन वैद्य तथा नेत्रविक्रम चन्द (विप्लव)ले नेतृत्व गरेको पार्टीलाई पनि माओवादीमा ल्याउने प्रयास भइरहेको बताउने गरेका छन् । पछिल्लो समय प्रचण्डले सार्वजनिक कार्यक्रमहरूबाटै विभिन्न पार्टीहरूलाई एकताको प्रस्ताव गरिरहेका छन् । 

केही समयअघि उनले माओवादी केन्द्रको स्थायी कमिटी बैठकबाट माओवादी केन्द्रबाट छुट्टिएर गएका पार्टीलाई एकतृत गर्ने र विचार मिल्ने पार्टीहरूसँग एकताको प्रयास गर्ने निर्णय गराएका थिए । त्यसपछि भने प्रचण्डले हरेकजसो सार्वजनिक कार्यक्रममा विभिन्न दललाई पार्टी एकताको प्रस्ताव गरिरहेका छन् । पार्टी एकता हुन नसक्ने दलसँग चुनावमा गठबन्धन गर्ने र सत्तारूढ गठबन्धन चुनावसम्मै जारी रहने अभिव्यक्ति दोहोर्‍याइरहेका छन् । 

सर्लाही पुगेर प्रचण्डले के भने ? 

प्रचण्डले भनेका थिए–

क्षेत्रीय पार्टीबाट मधेशी जनताको पनि मुक्ति हुन्न । पहाडीया जनताको पनि मुक्ति हुन्न । महासागर बनाऔं । गहिरिएर हेरौं । अलग–अलग पार्टी बनाउनै पर्दैन महेन्द्रजी, उपेन्द्रजी सबैलाई हार्दिकतापूर्वक भन्छु, गठबन्धन त हामीले गरेकै छौं । अब एउटै पार्टी बनाऔं । सबाल सिद्धियो । तपाईंहरूलाई चाहिने सम्मान । चाहिने अधिकार दिन हामी कन्जुस्याइँ गर्ने छैनौं, तपाईंहरू ढिला नगर्नुस् । हामी सबै पार्टी एकता गरौं ।

मलाई उपेन्द्रजी र महिन्द्रजीले राम्रो चिन्नुहुन्छ, कस्तो मान्छे हो भनेर । हाम्रो पार्टी कस्तो हो भनेर । नडराइकन पार्टी एउटै बनाऔं । सिद्धियो । म जनकपुर आउँछु । जनकपुरमा घोषणा गरौं । एउटा राम्रो सन्देश जान्छ । अर्को चुनावमा मधेशमा लहर आउँछ । हामीले सरकार बनाउँछौं । टेन्सन लिन किन पर्‍यो ?

२०७५ जेठ ३ मा नेकपा एमाले र माओवादी केन्द्रको एकीकरण गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनाएको भए पनि उक्त पार्टी तीन वर्ष पनि नपुग्दै पूर्ववत् अवस्थामा फर्किएको छ ।

२०६४ को पहिलो संविधानसभा निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेर सरकार बनाएको माओवादी केन्द्र अहिले भने विभिन्न टुक्रामा विभाजन भएको छ । माओवादी केन्द्र अहिले संघीय संसदमा ५९ जना सांसदसहित तेस्रो ठूलो दल रहेको छ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी संघीय प्रतिनिधि सभामा पाँचौं ठूलो दल हो । 

आगामी निर्वाचनमा माओवादी केन्द्रको अस्तित्व जोगाउन प्रचण्डले अनेकौं विकल्प पहिल्याइरहेका छन् । निर्वाचनसम्मै सत्तारूढ गठबन्धन कामय राख्ने र निर्वाचनमा सहकार्य गर्ने कुरा त उनले हरेक दिनजसो दोहोर्‍याउने गरेका छन् । 

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य देव गुरुङ विचार मिल्ने समूहसँग एकताको प्रयास जहिले पनि जारी रहने निर्णय भएको बताउँछन् । 

‘विचार मिल्नेहरूसँग एकताको पहल गर्ने भनेको त स्वाभाविक प्रक्रिया हो । यो शाश्वत निर्णय पनि हो । यस्तो विषय पार्टीमा जहिले पनि पारित हुन्छ । त्यहीअनुसार, अन्तरकुन्तर अलिअलि छलफल चलिरहने विषयहरू भइहाल्यो’, गुरूङले भने । पार्टी एकताकै लागि भनेर औपचारिक छलफल भने कुनै पार्टीसँग पनि नभएको उनले बताए । 

विचार मिल्ने र गठबन्धनमा पनि भएकाले जनता समाजवादी पार्टीसँग एकताको प्रस्ताव स्वाभाविक भएको गुरूङको भनाइ छ । 

तर, जनता समाजवादी पार्टीका नेता डम्बर खतिवडाले प्रचण्डले एक्लै टिक्ने आत्मविश्वास गुमाएका कारण जसपाको नाम लिएर मनोवैज्ञानिक भ्रम छर्ने प्रयास गरेको बताएका छन् । 

उनले सामाजिक सञ्जाल फेसबूकमा स्ट्याटस लेखेका छन्, ‘एक्लै टिक्ने’ आत्मविश्वास गुमाएपछि कमरेड प्रचण्ड जसपाको नाम लिएर अनावश्यक मनोवैज्ञानिक युद्ध गर्दै र भ्रम छर्दै हुनुहुन्छ । यो भ्रममा कोही नपरौं ।’ 

जनता समाजवादी पार्टी र माओवादी केन्द्रको विचार पद्धति धेरै फरक भएको भन्दै पार्टी एकताको कुनै सम्भावना नरहेको उनले बताएका छन् । 

‘जसपाको विचार पद्धति साम्यवाद र माओवाद धेरै भिन्न र मौलिक छन् । साविक स्थितिमा यी दुई पार्टीबीच एकताको कुनै सम्भावना छैन । यी दुई पार्टीको दार्शनिक, वैचारिक आधार नै फरक हुन् । एकाध एजेण्डा मिल्लान्, त्यो भिन्नै कुरा हो’, खतिवडाले भनेका छन् ।

माओवादी केन्द्र छाडेर नयाँ शक्ति पार्टी गठन गरेका डा. बाबुराम भट्टराई अहिले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष छन । उक्त पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि माओवादी भूमिगत रूपमा रहँदा माओवादीसँग निकट थिए ।

मधेशी जनअधिकार फोरम नामको गैरसरकारी संस्था चलाइरहेका यादव नेपालमा संकटकाल लागेका बेला प्रवासमा बस्न बाध्य भएका थिए । 

त्यसैबेला उनी जेल पनि परेका थिए । त्यसअघि विराटनगरमा शिक्षण पेशामा आबद्ध यादव मधेशी जनअधिकार फोरमबाटै राष्ट्रिय राजनीतिमा आएका हुन् । 

२०६३ माघमा अन्तरिम संविधान जलाएपछि यादव चर्चामा आएका थिए । उनले विभिन्न समयमा फरक–फरक पार्टीसँग एकता गर्दै अहिले जनता समाजवादी पार्टी बनाएका छन् ।

राजनीतिक विश्लेषक श्याम श्रेष्ठ पनि जनता समाजवादी पार्टी र नेकपा माओवादी केन्द्रका बीचमा एकताको कुनै सम्भावना नदेखेको बताउँछन् । 

‘दुई पार्टीको न सिद्धान्त मिल्छ, न त विचार नै मिल्छ । माओवादी अध्यक्ष प्रचण्ड आगामी चुनाव जितिँदैन भन्ने निष्कर्षमा छन् । चुनाव जित्ने आधार बनाउने उनको अनेकौं प्रयत्न मध्येको एक जसपासँग एकीकरणको प्रस्ताव हो’, श्रेष्ठले भने । 

चुनाव नजित्ने निश्चित भएपछि त्यसबेलाको हारलाई ढाक्न प्रचण्डले अहिल्यैबाट योजना बनाउन थालेको श्रेष्ठको दाबी छ । 

‘चुनाव हारेपछि पार्टी सानो भयो यसकारण हारियो भन्न मिलेन । त्यसैलाई ढाक्न उनी अहिलेदेखि नै कहिले चुनाव लड्न पैसा छैन भन्छन्, कहिले विभिन्न पार्टीलाई एकताको प्रस्ताव गर्छन्’, श्रेष्ठले भने । 

पछिल्लो समयमा प्रचण्डले जुनसुकै पार्टीलाई पनि एकताको प्रस्ताव गरिरहेका छन् । उनका पछिल्ला भाषण पनि विचलित देखिने गरेका छन् । प्रचण्डको भाषणमा छटपटाहट झल्किने गरेको छ । यसलाई श्रेष्ठ वैचारिक स्खलनको नमूना भन्छन् । 

‘जुनसुकै पार्टीसँग एकताको प्रस्ताव गर्दै हिँड्नु भनेको मेरो पार्टीमा विचार सिद्धान्तको कुनै मतलब छैन । यो सैद्धान्तिक, वैचारिक स्खलनको नमूना हो’, उनले भने । 

प्रचण्डको अभिव्यक्तिमा मानसिक विषाद छाएको झल्को आफूले पाउने गरेको श्रेष्ठले बताए । 

‘उनमा (प्रचण्ड) मानसिक विषाद छाएको हो कि भन्ने लागेको छ । मनोवैज्ञानिक डिप्रेसनको कारण त्यस्तो अभिव्यक्ति आएको हुनसक्छ । उनले बोलेका कुराकै ठेगान हुन छाडेको छ’, श्रेष्ठले भने । 

salt training

कमेन्ट गर्नुहोस्