
दक्षिण पर्वतको पैंयु गाउँपालिकामा गर्भवती तथा सुत्केरी महिलासँग ‘उपाध्यक्ष सन्चो बिसन्चो’ कार्यक्रम सञ्चालन गरिएको छ ।
गाउँपालिका भित्रका कोही पनि गर्भवती महिला र नवजात शिशुहरूले गुणस्तरयुक्त पोषण र उपचारको अभावमा मृत्युवरण गर्न नपरोस् भन्ने उद्देश्यले चालू आर्थिक वर्षदेखि यस्तो कार्यक्रम शुरू गरिएको हो ।
आव २०७८/७९ को स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत गर्भवती महिला र नवजात शिशुको पोषणका लागि कार्यक्रम अघि बढाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत केशव लामिछानेले जानकारी दिए ।
कार्यक्रमका लागि सञ्चालन कार्यविधि २०७८ समेत पारित गरेर गर्भवती अथवा सुत्केरी महिलालाई पोषणका लागि प्रतिसुत्केरी ५ हजार रुपैयाँ प्रदान गर्ने व्यवस्था गरिएको छ । विपन्न परिवारका महिला तथा बालबालिकालाई २ पटक ५/५ हजार रुपैयाँका दरले र अन्य महिलालाई एक पटक ५ हजार रुपैयाँका दरले रकम दिइने भएको छ ।
रकमसँगै आवश्यक सामग्री समेत सहयोग गरिने जनाइएको छ ।
कार्यक्रम गत आइतवार गाउँपालिका उपाध्यक्ष जसमती गुरुङले वडा नम्बर ३ स्थित बेउलीबासमा शुभारम्भ गरेकी थिइन् । वडाका सुत्केरी महिलालाई उनले ५ हजार रुपैयाँका दरले नगद प्रदान गरिन् ।
गाउँपालिकाले घरमै आएर सुत्केरी खर्च उपलब्ध गराएपछि महिला हर्षित बनेका थिए । गाउँपालिकाका ७ वटै वडामा कार्यक्रम विस्तार गरिने भएको छ । यसबाट प्रायः विपन्न परिवारका महिला र बालबालिका लाभान्वित हुने अपेक्षा गरिएको छ ।