
समाजवादी प्रेस सङ्गठन नेपालको राष्ट्रिय भेला–२०७८ आगामी पुस ५ गते गरिने भएको छ । भेला चितवन वा हेटाैँडामा गरिने जनाइएको छ । गत भदौ १० गते सङ्गठन स्थापना गरिने निर्णय भएको थियो ।
सङ्गठनका २०१ सदस्यीय संस्थापक केन्द्रीय तदर्थ समिति र केन्द्रीय पदाधिकारीको नाम एवं जिम्मेवारी यही कात्तिक २७ गते आयोजना गरिने घोषणासभाबाट सार्वजनिक गरिनेछ । सङ्गठनले गत वर्ष पुस ५ मा गरिएको प्रतिनिधिसभा विघटनको कदमलाई नेपालको इतिहासमा असंवैधानिक दिन मानी सोको भण्डाफोर गर्ने दिनका रूपमा उपयोग गर्ने निर्णय गरेको संस्थापक संयोजक शम्भु श्रेष्ठले जारी गरेको अन्तर सङ्गठन निर्देशनमा उल्लेख छ ।
राष्ट्रिय भेलाले सङ्गठनका नीति, कार्यक्रम, कार्यदिशा र आगामी कार्ययोजना निर्माण गर्ने, विधानबमोजिम १५१ सदस्यीय केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्य चयन गर्ने र राष्ट्रिय सम्मेलनको मिति तय गर्ने जनाइएको छ । यही कात्तिक १२ गते काठमाडौँमा उपलब्ध संस्थापक केन्द्रीय तदर्थ कमिटीका सदस्यको बैठकले सङ्गठनलाई प्रशासनिक निकायमा छिट्टै दर्ता गर्ने जनाएको छ । बैठकमा नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव, प्रचार विभागका प्रमुख एवं सङ्गठनका इञ्चार्ज जगन्नाथ खतिवडा, पार्टी केन्द्रीय कमिटी सदस्य चमिना भट्टराई र अशेष घिमिरे उपस्थित थिए ।
तोकिएका प्रदेश इञ्चार्ज, सहइञ्चार्ज, संयोजक, सहसंयोजक र सचिवले सम्बन्धित प्रदेशस्थित सङ्गठनका केन्द्रीय संस्थापकसहित पार्टीको प्रचार विभाग हेर्ने गरी तोकिएका पदाधिकारीका उपस्थितिमा एक हप्ताभित्र सम्पूर्ण जिल्लाका संयोजकको नाम टुङ्गो लगाई केन्द्रीय कार्यालयलाई जानकारी दिनुपर्ने, दुई हप्ताभित्र प्रदेश कमिटीलाई पूर्णता दिनुपर्ने, केन्द्रीय कार्यालयसँग समन्वय गरी आगामी मङ्सिर दोस्रो हप्तादेखि सङ्गठनको प्रशिक्षणमूलक प्रदेश भेला आयोजना गर्ने र प्रदेश कमिटीको सङ्ख्या बढीमा ५१ सदस्यीय हुने निर्देशनमा उल्लेख छ । कमिटीमा जिल्ला संयोजक स्वतः सदस्य हुने बताइएको छ ।
जिल्ला कमिटीको सङ्ख्या बढीमा २१ सदस्यीय हुनेछ । केन्द्रबाहेकका प्रत्येक कमिटीमा महिलासहित उपाध्यक्ष दुई तथा सचिव, सहसचिव र कोषाध्यक्ष एक–एक रहनेछन् । पूर्वसंस्थाबाट सङ्गठनमा आउन चाहनेलाई राष्ट्रिय सम्मेलनबाट न्यायोचित भूमिका दिने र त्यसअघि सङ्गठन निर्माण काममा लागिपर्नका लागि अनुरोध गरेको पार्टी केन्द्रीय प्रचार विभागका उपप्रमुख श्रेष्ठले अनुरोध गरेका छन् ।