साउदी अरबमा महिलाहरूलाई नयाँ स्वतन्त्रताहरू दिइँदै गर्दा उनीहरूले गैरपरम्परागत सोख पनि पाल्न थालेका छन् ।
गाडी चलाउन तथा नातेदार पुरुषविना नै बाहिर जान पाृने स्वतन्त्रतापछि अब साउदी महिलाहरूले बन्दूक चलाउन पनि पाउने भएका छन् ।
मोना अल–खुराइस सानो उमेरदेखि नै बन्दूक मन पराउँथिन् । उनका पिताले शिकारमा उनलाई पनि लग्ने गरेको अनि बन्दूक चलाउन पनि सिकाएकोले उनमा बन्दूकको सोख जागेको हो ।
पाँच वर्षअघि उनले त्यसलाई व्यवसायमा बदलिन् । साउदीमा अनि विदेशमा पनि तालिम लिएर उनी बन्दूक प्रशिक्षक बनिन् ।
उनी अहिले राजधानी रियादमा टप गन नामक फाइरिङ रेन्जमा बन्दूक चलाउन सिकाउँछिन् । उनको क्लासमा महिलाहरू ठूलो संख्यामा आउने गरेका छन् ।
साउदीमा क्रमशः उदारवाद लागू गरिँदै जाँदा महिलाप्रतिको दृष्टिकोण परिवर्तन हुँदैछ । महिलाहरूले विभिन्न पेशा व्यवसाय अपनाउन थालेका छन् ।