३१ असार २०८३, बुधबार

प्रचण्ड र माधव नेपालले जमिनको समस्या समाधान गर्न दिएनन् : केपी ओली

‘वनभोज कार्यक्रम गरेर कहीँ ३०० करोडको रंगशाला बन्छ ?’
कात्तिक १६, २०७८
प्रचण्ड र माधव नेपालले जमिनको समस्या समाधान गर्न दिएनन् : केपी ओली
फाइल फोटो

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशभरको जमिनको समस्या समाधानमा अवरोध गरेको आरोप लगाएका छन् । 

चितवनको सौराहामा पार्टीका कार्यकर्तासँग अन्तर्क्रिया गर्दै ओलीले आफ्नो नेतृत्वको सरकारको बेला डिजिटल प्रणालीबाट जमिनको समस्या समाधानको प्रयास गरेको र राम्रो काम गरेको सहन नसकेर प्रचण्ड र माधव नेपालले सरकार ढालेको ओलीले आरोप लगाए । 

‘भूमिको समस्या समाधान हुन नदिने भनेको मुख्य रूपमा प्रचण्ड र माधव नेपाल हुन् । तेस्रो रूपमा कांग्रेस हो । अरुको बुता चल्दैनथ्यो यो रोक्न । यिनीहरूले २०५१ सालदेखि असफल पारेको पार्‍यै छन्,’ ओलीले भने । 

आफू प्रधानमन्त्री हुँदा ठूला आयोजनाको अनुगमन सिंहदरबारबाटै गर्न मिल्ने व्यवस्था गरिएको, देशभरको माटो अवस्था बताउने, आफ्नो नक्सा हेर्न मिल्ने गरी मेरो कित्ता नामको एप्स बनाएको सौराहमा ओलीले बताएका थिए । 

‘नेपाललाई आधुनिक विकासमा लैजानका लागि चाहिने आधारभूत कुराको तयारी गर्दै थियौं, त्यो हुन दिएनन्,’ ओलीले भने । 

अन्तर्क्रियामा ओलीले भने, ‘८ वटा नयाँ औद्योगिक क्षेत्रहरू बनाउन प्रस्ताव गरेका छौं । सबै प्रदेशमा १–१ वटा र लुम्बिनी प्रदेशमा २ वटा औद्योगिक क्षेत्र बनाउन लागेका थियौं । एउटा औद्योगिक क्षेत्रमा कमसेकम ९०० विगाहदेखि २ हजार १०० विगाहसम्मको जमिनमा बनाउन खोजेका थियौं । पहिलेको जस्तो यत्रो–यत्रो (हातले सानो इशारा गर्दै) २०–३० विगाहको औद्योगिक क्षेत्र होइन ।’

ती औद्योगिक क्षेत्र वातावरणमैत्री बनाउन लागिएको र नाम पनि इन्डस्ट्रियल पार्क राखिएको ओलीले बताए । ‘हामीले नाम पनि इन्डस्ट्रियल पार्क भनेर राखेका थियौं । अब यो काम अरुले गर्दैन, नेकपा एमाले नै मजबुत चाहिन्छ,’ ओलीले भने । 

पिकनिक गरेर रंगशाला बन्छ ?

चितवनमा धुर्मुस–सुन्तली फाउन्डेसनले बनाइरहेको क्रिकेट रंगशालाको विषयमा पनि ओलीले टिप्पणी गरेका छन् । 

‘यहाँको रंगशाला यसरी नगरौं भनेको थिए । जिद्दी गरेर खप्नखान भएन । लौ न त भनेर दिएको, अहिले अलपत्र जस्तो छ,’ ओलीले भने, ‘कहीँ वनभोज कार्यक्रम गरेर रंगशाला बन्छ ? ३०० करोडको रंगशाला पिकनिक कार्यक्रम गरेर बन्छ ? पिकनिक कार्यक्रममा जाने पैसा उठाउने, रंगशाला बनाउने भन्ने पनि हुन्छ ?’

संवैधानिक व्यवस्था अनुसार बढीमा १३ महिनामा निर्वाचन गर्नुपर्ने र त्यसपछि एमालेको एकल बहुमतको सरकार बनाउने दाबी पनि ओलीले दोहोर्‍याएका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्