
पूर्व महान्यायाधिवक्ता एवं वरिष्ठ अधिवक्ता रमन श्रेष्ठले प्रधानन्यायाधीशको सम्मानजनक बहिर्गमन भनेकै राजीनामा भएको बताएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायाधीशहरूसँग आफूलाई सम्मानजनक बहिर्गमन गर्न दिन आग्रह गरेको भन्ने प्रसंग उल्लेख गर्दै श्रेष्ठले केही समयपछि सम्मानजनक रूपमा बाहिरिन्छु भन्नु जालझेल मात्र भएको बताए ।
जबराको जालझेलमा नफस्न र बारलाई माइनस गरेर कुनै पनि निर्णय नलिन न्यायाधीशहरूलाई श्रेष्ठको आग्रह छ ।
उनले एक मिनेट पनि ढिला नगरी राजीनामा दिन प्रधानन्यायाधीश जबरालाई आग्रह गरे । अन्यथा महाअभियोगका लागि पनि पर्याप्त आधारहरू रहेको उनको जिकिर छ ।
हातमा कालोपट्टी बाँधेर धर्ना दिने बारको नियमित कार्यक्रमपछि श्रेष्ठले वकिलहरूलाई सम्बोधन गरेका हुन् ।
धर्नापछिको सभालाई अहिले अन्य अधिवक्ताहरूले सम्बोधन गरिरहेका छन् ।