३१ जेठ २०८३, आइतबार

सार्वजनिक जमिनमा सामूहिक खेती गरिँदै

कात्तिक १६, २०७८
सार्वजनिक जमिनमा सामूहिक खेती गरिँदै
प्रतिकात्मक तस्वीर

तनहुँको व्यास नगरपालिका–१० दुम्सीस्थित सिसुवा भतेरी कृषि सहकारीले खेर गइरहेको बाँझो जमिनको सदुपयोग गरी सामूहिक खेती गर्दै आएको छ ।

संस्थाले सोही ठाउँस्थित मादीनदी किनार नजिकै रहेको सिसुवा भतेरीका जग्गामा मौसम अनुरूपको बाली लगाउँदै आएको हो । 

सहकारी संस्थाले सामूहिक खेती गरेर विपन्न समुदायको आयवृद्धिमा सहयोग गर्न थालेपछि आफ्नो जमिन नभएका आलु तथा धान लगाउन अँधिया खोज्दै अन्यत्र जानुपर्ने बाध्यता हटेको छ । सहकारीले अतिसीमान्तकृत बोटे, अल्पसंख्यक दरै, दलित तथा विपन्न व्यक्तिको आयआर्जनका लागि सामूहिक खेती गर्ने अवसर दिएपछि उनीहरू खुशी भएका छन् । विपन्नको आयआर्जनका लागि वडा कार्यालयले १० वर्षका लागि सो सार्वजानिक जग्गा निःशुल्क प्रयोग गर्न दिएको हो ।

विगत ४ वर्षअघि देखि नै सामूहिक खेती गर्दै आएको सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले जानकारी दिए ।

सहकारीले आयआर्जनका लागि करीब १ लाख रुपैयाँको लागतमा जमिन सम्याएर खेत बनाएपछि खेती गर्न थालेको उनले बताए । सहकारीले राम्रो कार्य गरेको भन्दै व्यास नगरपालिकाले सामूहिक खेतीका लागि १७ लाख पर्ने ट्रयाक्टर सहयोग गरेपछि थप उत्साहित भएको संस्थाले जनाएको छ । 

चरिचरन बन्द गरी स्थानीय उपभोक्ताले नै प्रयोग गर्नुस् भनेर भेला राखेर सहकारीमार्फत सामूहिक खेतीको प्रयास गरिएको वडाध्यक्ष तुलसीराम सापकोटाले जानकारी दिए । जसको जग्गा छैन उनीहरूलाई प्राथमिकता दिएर समूह बनाइएको छ ।

‘मैले काम पाइनँ, मैले गरी खान पाइनँ’ भन्नेहरूका लागि सहकारीले सामूहिक खेतीलाई प्राथमिकता दिएपछि समस्या हटेको उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्