
स्थानीय सरकारको कर भुक्तानी समेत अन्लाईनबाटै गराउने गरी काठमाडौं महानगरपालिकाले जनताले तिर्नुपर्ने आफ्नो सबै कर भुक्तानी आइपीएसमार्फत बैंक खाताबाटै हुने सुविधाको थालनी गरेको छ । यस सुविधाको लागी काठमाण्डौं महानगरपालिकालाई कनेक्ट आइपीएसमा नबिल बैंक मार्फत आबद्ध गराइएको हो ।
यस सुविधा सँगै करदाताले महानगरपालिकामा बुझाउनुपर्ने सम्पत्ति कर, मालपोत (भूमीकर), व्यवसाय कर, बहाल कर, लगायतका सम्पूर्ण कर, दस्तुर तथा सेवा शुल्कहरु घरमै बसेर दाखिला गरी प्रारम्भिक मूल्याङ्कन गरी अन्लाईन भुक्तानीको लागी आइपीएस ई–पेमेन्ट मार्फत भुक्तानी गर्न सक्नेछन् । यस संगै कर तिर्न करदाताले कार्यालयमा गएर लामो समयसम्म लाइनमा बस्नुपर्ने अवस्था अन्त्य हुने भएकोले करदातालाई यस सुविधाले सहज हुने विश्वास गरिएको छ ।
महानगरपालिकाको राजस्व प्रणालीमा करदाताले आफुलाई पायक पर्ने वडा कार्यालय गई एक पटक आफ्नो मोवाईल नम्बर र ईमेल ठेगाना आवद्ध गराउनु पर्ने हुन्छ । यसरी आवद्ध गरी सके पछि करदाताले https://eservice.kathmandu.gov.np/ मा गई आफ्नो युजर नेम र पासवर्ड प्राप्त गरी सोझै विवरण दाखिला गरी रकम भुक्तानीको लागी आफ्नो बैंक खाताबाट आइपीएसमार्फत सजिलै कर तथा राजस्व भुक्तानी गर्न सक्नेछन् ।