
नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले आगामी १४औं महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने बताएका छन् ।
बुधवार विराटनगरमा प्रेस युनियन मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै गच्छदारले पार्टीको आसन्न महाधिवेशनमा उपसभापतिमा उम्मेदवारी दिने बताए ।
कुन प्यानलबाट उपसभापतिमा उम्मेदवारी दिनुहन्छ भन्ने प्रश्नमा उनले हालसम्म आफ्नो कुनै गुट नरहेको बताए । उनले हाँस्दै भने, ‘अहिलेसम्म सभापतिमा ९–१० जनाको चर्चा सुनिरहेको छु, उहाँहरूको कुरा सुनेर कुन पक्षमा लाग्ने भन्ने निष्कर्षमा पुग्छु ।’
देउवानिकट मानिएका गच्छदारले पार्टीभित्र नेतृत्व तहबाट विभेद भएको बताउँदै विधान, नियमावली र निर्देशनलाई एकातिर पन्छ्याएर खासखास व्यक्तिको रुचि र छनोटलाई आधार मानेर स्थानीय तहमा नेतृत्व चयन गरिएको आरोप लगाए ।
गच्छदारले गहिरो बन्दै गएको गुटबन्दीले पार्टीलाई दिनदिनै कमजोर बनाउँदै लगेको बताउँदै अहिलेको विधानलाई परिमार्जन गर्न आवश्यक रहेको बताए । उनले पार्टीको निर्वाचन गर्दा सभापति र केन्द्रीय सदस्यको निर्वाचन एकैसाथ सम्पन्न गर्ने संवैधानिक व्यवस्था गरिनुपर्ने समेत बताए ।
नेपाली कांग्रेसलाई बलियो बनाउनकै लागि आफ्नो नेतृत्वको लोकतान्त्रिक फोरमलाई एकीकरण गरेको स्मरण गर्दै उनले आफू कुनै गुट विशेषलाई साथ दिन र लिन नआएको प्रस्ट्याएका छन् ।