
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग नेपालका लागि युरोपेली संघका राजदूत नोना डेप्रेजले शिष्टाचार भेट गरेकी छन् ।
मन्त्रालयमा बुधवार भएको भेटवार्तामा उनीहरूबीच द्विपक्षीय एवं बहुपक्षीय चासोका विषयमा छलफल भएको थियो ।
सो अवसरमा मन्त्री भुसालले राजनीतिक स्थायित्वसँग आर्थिक विकासमा नेपाल अगाडि बढेको बताउँदै त्यसका लागि युरोपेली संघले सहयोग गर्ने विश्वास व्यक्त गरिन् ।
आर्थिक तथा मानवीय सहयोगप्रति धन्यवाद व्यक्त गर्दै उनले जलवायु परिवर्तनले नेपालमा परेको अवसरबारे राजदूतलाई जानकारी गराइन् । जलवायु परिवर्तनका विषयमा सामूहिक ऐक्यबद्धता व्यक्त गर्नुपर्ने बताउँदै मन्त्री भुसालले युरोपेली संघ र सदस्य मुलुकले सो विषयमा विशेष चासो दिनुपर्नेमा जोड दिइन् ।
सो अवसरमा राजदूत डेप्रेजले जलवायु परिवर्तनको असरसँग जुध्न सामूहिक पहल मुख्य भएको उल्लेख गर्दै त्यस विषयमा नेपालको पक्षमा ऐक्यबद्धता व्यक्त गरिन् ।
युरोपेली संघ र सदस्य मुलुकको वैकल्पिक ऊर्जाका क्षेत्रमा विशेष चासो रहेको र त्यसको प्रवद्र्धनमा आफूहरू नेपाल सरकारसँग सहकार्य गर्न तयार रहेको बताइन् । त्यस अवसरमा जलस्रोत तथा सिँचाइ सचिव सागरकुमार राई, सहसचिव मधुकरराज राजभण्डारीसहित पराष्ट्र मन्त्रालयको प्रतिनिधिको सहभागिता थियो ।