
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री शशी श्रेष्ठले अब छिट्टै भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरिने बताएकी छन् ।
महोत्तरीको बर्दिवासमा आज भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरणसम्बन्धी अन्तरक्र्रिया कार्यक्रममा मन्त्री श्रेष्ठले सरकार छिट्टै लालपुर्जा वितरणको तयारीमा लागेको उल्लेख गरिन् । मन्त्री श्रेष्ठले यसअघि भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई व्यवस्थित गर्न विभिन्न कालमा बनेका आयोगले गरेका कामको सम्पूर्ण स्वामित्व सरकारले लिने बताइन् ।
कार्यक्रममा बर्दिबास नगरपालिकाका प्रमुख विदुरकुमार कार्कीले बर्दिवास नगरक्षेत्रमा नापजाँचको काम सम्पन्न भइसकेको र तथ्याङ्क प्रविष्ट गर्ने कार्य अन्तिम चरणमा रहेको जानकारी दिए । नापी कार्यअन्तर्गत नौ हजार ४५९ भूमिहीन सुकुम्बासी, भूमिहीन दलित तथा अव्यवस्थित बसोबासीको लगत सङ्कलन गरिएको कार्कीको भनाइ छ ।