०१ असार २०८३, सोमबार

नरक चतुर्दशी स्नान, दीपदान

कात्तिक १८, २०७८
नरक चतुर्दशी स्नान, दीपदान

प्रत्येक वर्ष कार्तिक कृष्ण चतुर्दशीको बिहान अरुणोदयकालअघि नदी, तलाउ वा धारामा गई स्नान गरी मनाइने नरक चतुर्दशी पर्व आज मनाइँदैछ ।

स्नानपछि सालको पातमा यमदीप दक्षिण दिशामा फर्काई बालेर बगाउने कार्य पनि आज वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्छन् । यसलाई नरक स्नान गर्ने र नरक बगाउने भनिन्छ । बोलीचालीको भाषामा नरके नुहाएर बगाउने नामले समेत यो पर्व चिनिने गरेको छ ।

आज यसरी नरके बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । यसै कारण आजको दिनलाई नरक चतुर्दशी पनि भनिन्छ ।

कुकुर तिहार र नरक चतुर्दशी यमपञ्चकअर्थात् तिहारको दोस्रो दिन पर्ने भए पनि यस वर्ष तिथिको घटबढका कारण कुकुर तिहार दोस्रो दिन बुधबार र नरक चतुर्दशी तेस्रो दिन आज परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । यस वर्ष कात्तिक १६ गते मङ्गलबारदेखि यमपञ्चकअर्थात् तिहार पर्व सुरु भएको हो । दोस्रो दिन बुधबार काग र कुकुर तिहार पर्व मनाइएको थियो । यो नेपालीको दोस्रो ठूलो चाड हो ।
 
बिहान अरुणोदयकालअघि चतुर्दशी तिथि परेका दिन नरक स्नान गरी बत्ती बालेर बगाउनुपर्ने भएकाले आज बिहान यो पर्व मनाउनुपर्ने निर्णय गरिएको समितिले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्