०१ असार २०८३, सोमबार

राष्ट्रपति कार्यालय शीतलनिवासको आँगनमा देउसीभैलो

कात्तिक १८, २०७८
राष्ट्रपति कार्यालय शीतलनिवासको आँगनमा देउसीभैलो

राष्ट्रपति कार्यालय शीतलनिवासको प्राङ्गणमा बिहीवार सांस्कृतिक संस्थानका कलाकार र बाल मन्दिरका बालबालिकाले देउसीभैलो प्रस्तुत गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा ती कलाकारले देउसीभैलोसहित नेपालका विभिन्न क्षेत्र र भू–भागका लोकसंस्कृति प्रस्तुत गरेका थिए ।

त्यसक्रममा सांस्कृतिक संस्थानका ३० जना कलाकारले नेपालको पूर्व र पश्चिमका देउसीसहित नुगेको डाली, साकेला, घरपट्टि नानी, तिहारै आयो, टप्पा, रोयला, असारे महिनाजस्ता लोक–सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । 

बालमन्दिरका बालबालिकाले पनि देउसीभैलो प्रस्तुत गरेका थिए । राष्ट्रपति भण्डारीले देउसीभैलो प्रस्तुत गर्ने कलाकार टोलीलाई सेलरोटी, फलफूल र दक्षिणा समेत प्रदान गरेकी थिइन् । उनले देउसी भैलोलाई दिइने परम्पराअनुसार नै बलेको दियो नाङ्लोमा राखेर चामल र सेलरोटी सहितको दक्षिणा आफैंले दिएकी थिइन् ।

राष्ट्रपति भण्डारीले आफ्ना मौलिक गीत, सङ्गीत, कला र साहित्यले जुनसुकै देशलाई पनि समृद्ध बनाउन सहयोग पुर्‍याउने भन्दै नेपालको लोकसंस्कृति विश्वमै विशिष्ट र अद्वितीय रहेको बताइन् ।

उनले सांस्कृतिक संस्थानले नेपालको लोकसंस्कृति र परम्पराको संरक्षण र प्रवद्र्धनमा निर्वाह गरेको भूमिका अतुलनीय रहेको भन्दै बिहीवार प्रस्तुत देउसीभैलोका लागि सबै कलाकारलाई विशेष धन्यवाद दिइन् ।

उनले कोरोना महामारीले असहज बनाएको नेपाली समाज र देशको अवस्थालाई सहजतातर्फ उन्मुख गराउन यस्ता सांस्कृतिक कार्यक्रमहरूले पनि योगदान पुर्‍याउन सक्ने बताइन् ।

राष्ट्रपति कार्यालयको आँगनमा यसरी आफ्ना प्रस्तुति दिन पाएकामा कलाकारहरूले निकै खुशी व्यक्त गरेका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्