आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिताको तयारीका लागि नेपाली टोली बिहीवार बंगलादेश प्रस्थान गरेको छ ।
नेपाली टोलीले बंगलादेशमा १ हप्ता तयारी गर्नेछ ।
बंगलादेशमा रहँदा नेपाली टोलीले ४ अभ्यास खेल खेल्ने नेपाल क्रिकेट संघ (क्यान) का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए । नेपाली टोलीले कात्तिक २५ गतेसम्म बंगलादेशमा अभ्यास गर्नेछ । नेपाली टोलीको कप्तानी रुबिना क्षेत्रीले गरेकी छन् ।
टोलीका अन्य खेलाडीमा सीता रानामगर, करुणा भण्डारी, डली भट्ट, इन्दु बर्मा, सरिता मगर, ज्योति पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सवनम राई, कविता कुँवर, अप्सरी वेगम, कविता जोशी र संगीता राई रहेका छन् ।
वैकल्पिक खेलाडीका रूपमा सरस्वती जीएम, रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरीलाई राखिएको छ । नेपाली टोलीको प्रशिक्षकमा जगत टमाटा र व्यवस्थापकमा जयन्ती भट्ट रहेका छन् ।
आईसीसी महिला टी–२० विश्वकप क्रिकेटको छनोट प्रतियोगिता आगामी मंसिर ३–१३ गतेसम्म युनाइटेड अरब इमिरेटस् (यूएई) मा हुनेछ । प्रतियोगितामा नेपालसहित यूएई, भुटान, कुवेत, हङकङ र मलेसियाले प्रतिस्पर्धा गर्नेछन् ।
नेपालले पहिलो खेल मंसिर ६ गते हङकङसँग, दोस्रो खेल मंसिर ७ गते भुटानसँग, तेस्रो खेल मंसिर ९ गते कुवेतसँग, चौथो खेल मंसिर १० गते मलेसियासँग तथा पाँचौं खेल मंसिर १२ गते यूएईविरुद्ध खेल्ने तय भएको छ ।
प्रतियोगिताको शीर्ष टोली आगामी वर्ष हुने ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ ।